‘सवारी साधनमा दुर्व्यवहारको शिकार जेष्ठ नागरिक’

तनहुँ – तनहुँका जेष्ठ नागरिकहरुले यात्राका क्रममा आफुहरु सार्वजनिक सवारीका कर्मचारीबाट दुब्र्यबहारको सिकार बन्नु परेको गुनासो गरेका छन् । शुक्लागण्डकी नगरपालिकामा जेष्ठ नागरिक सञ्जालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि भएको बृद्धहरुले जेष्ठ नागरिकले सवारी भाडामा पाउने छुटको अधिकार माग्दा दुर्व्यवहारमा पर्ने गरेको बताए ।
सञ्जालका सदस्य मिनबहादुर महतले अधिकार माग्दा गलत ब्यवहार हुने गरेको गुनासो गर्दै आफुहरुको अधिकार सुनिश्चित गर्न स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।“गाडीमा हिन्यो, बृद्धका लागि आरक्षित सिटमा समेत बस्न पाइदैन, भाडामाछुटटको कुरा गर्यो कि थर्काउछन् ।” महतले भन्नुभयो ।
यता शुक्लागण्डकी ७ का मैते कामीको पनि गुनासो उस्तै छ । “पोखराबाट आउदै थिएँ, जेष्ठ नागरिकको कार्ड देखाएर छुट मागेको विचबाटोमा नै झर् भनेर दुब्र्यवहार गरियो ।” उहाँले गुनासो गर्नुभयो “प्रहरी कार्यालयमा समन्वय गरेर भाडामा छुट पाउने अधिकार सुनिश्चित भयो ।”
कामीले यात्राको क्रममा जेष्ठ नागरिकहरु दुब्र्यवहारको सिकार बन्दा समेत अन्य शिक्षित नागरिकहरुबाटै असहयोग हुने गरेको बताउनुभयो । “लागेको भाडामा पनि किन किचकिच गरेको ? खुरुक्क दिनुहोस न जावो १०, २० रुपैयाका लागि पनि किन झगडा गर्नुहुन्छ भन्ने सुझाव आउने गर्छ । ” उहाँले भन्नुभयो ।
कार्यक्रममा उपस्थित भएका जेष्ठ नागरिकहरुले सवारी साधनसँगै स्वास्थ्य विमा कार्यक्रम मार्फत आफुहरु ठगिएको बताएका छन् । उपस्थित भएका केही गैरदलित जेष्ठ नागरिकहरुले सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने कार्यमा राज्यबाट उमेरको आधारमा विभेद भएको गुनासो गरे ।
उहाँहरुले अस्पतालमा कम गुणस्तरको औषधी दिइने, औषधी अभावको नाममा बाहिर जान सिफारिस गर्ने जस्ता समस्या झेल्नु परेको भन्दै आवश्यक सहयोग गर्न स्थानीय सरकारलाई आग्रह गरे ।
शुक्लागण्डकी १ का अग्निदत्त ढकालले सामाजिक सुरक्षा भत्ताको नाममा दलित समुदायलाई ६० र अन्यलाई ७० बर्षमा सुविधा दिने सरकारको निर्णय सच्याउन माग गर्नुभयो ।
यस्तै शुक्लागण्डकी ५ का बलबहादुर विकले सामाजिक सुरक्षा भत्ता उमेर अनुसार दिने सरकारको निर्णय भएता पनि आफुरुलाई अन्य समुदायबाट गलत ब्यवहार हुने गरेको बताउनुभयो । “हामीले मागेको कुरा हैन, राज्यले दिएको हो, तर तिमीहरु यस्तो उस्तो भन्दै सुनाउने हामीलाई गर्छन्, यो कुरा सच्चिन मिल्छ भने सच्चियोस् ।” विकले भन्नुभयो ।
नगर क्षेत्रमा रहेको जेष्ठ नागरिकहरुको गुनासो सुनिसके पश्चात उनीहरुको अधिकारको सुनिश्चित गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ्गले बताए ।
जिपि कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रका प्रमुख डा. रामकुमार श्रेष्ठले जेष्ठ नागरिकहरुले स्वास्थ्य विमा र औषधी अभावका नाममा गरेको गुनासो जायज भएको बताउनुभयो ।
उहाँले स्वास्थ्य विमा कार्यक्रम कार्यन्वय पक्षमा कमजोरी भन्दै त्यसको प्रत्यक्ष असर आफुहरुले भोग्दै आएकाले आगामी दिनमा सेवा सुविधालाई प्रभावकारी बनाउन पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरिक्षक जगदिश रेग्मीले बृद्धहरु समस्यामा परे प्रहरीलाई जानकारी दिन अनुरोध गर्नुभयो । रेग्मीले कतिपय समस्या स्वयं जेष्ठ नागरिककै कारण पनि सिर्जना हुने भएकाले सकरात्मक कार्यमा लाग्न आग्रह समेत गर्नुभयो ।
जेष्ठ नागरिकहरुको गुनासो सम्बोधनका लागि सम्वन्धित निकायसँगको छलफल तथा अन्तरक्रिया भनिएता पनि यातायातसँग सम्वन्धित सस्थाको भने कार्यक्रममा उपस्थिती थिएन । सञ्जालका अध्यक्ष बाबुराम बस्नेतले यातायातसँग सम्वन्धित सस्थाका पदाधिकारीहरुलाई आमन्त्रण गरिता पनि नआएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्