संघीयताको फाईदा: पर्वतको एक गाउँमा आधा अर्वका योजना
पर्वत -संघीयता अघि गाविस हुँदा धेरैमा ५० लाख रुपैयाँ बजेट पाउने गाउँमा अहिले ५० करोड रुपैयाँका योजना कार्यान्वयन हुँदैछन् । संघीयता कार्यान्वयनपछि पर्वतको जलजला गाउँपालिका–७ को धाइरिङमा जिल्लाकै सबैभन्दा बढि बजेट र विकासका कार्यक्रम कार्यान्वयन हुँदैछन् ।
तीन तहका सरकारको उत्तिकै प्राथमिकताका कारण धाइरिङमा चालू वर्ष ५० करोडभन्दा बढीका योजना सञ्चालनमा छन् । धाइरिङमा ३ वर्षयता सडक, सिँचाइ, खानेपानी, शिक्षा र अन्य भौतिक पूर्वाधार विकासका योजना धमाधम कार्यान्वयन हुन थालेको वडाध्यक्ष टुङ्गनाथ आचार्यले बताउनुभयो । उहाँका अनुसार धाइरिङको विकासका लागि अहिले प्रदेश र स्थानीय तहबाट गरी करिब आधा अर्बबराबरका योजना सञ्चालित छन् ।
सल्यानको सिँचाइ योजनालाई प्रदेश सरकारले डेढ करोड रुपैयाँ विनियोजन गरेको छ । गण्डकी सरकारबाट मिलनचोकदेखि ठोटनेरीसम्म १० किलोमिटर सडक कालोपत्रे योजनाका लागि २८ करोड १५ लाख विनियोजन भएको छ । उपल्लो धाइरिङमा द्वाकाडे–घायखेत बाँस्कोट सिँचाइ योजनाका लागि १ करोड ८४ लाख र लामाखेत लामाबगर तटबन्धका लागि १ करोड १० लाख बजेट छ । एक घर एक धारा कार्यक्रमका लागि करिब एक करोड रुपैयाँबाट काम भइरहेको छ । गाउँपालिकाले समेत कृषि, सडक, खानेपानीमा करिब ५० लाखका योजना कार्यान्वयनमा ल्याएका गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिनुभयो ।
धाइरिङको विकासमा जलजला गाउँपालिका, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, संघीय सांसद पदम गिरी, गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी लगायत राजनीतिक अगुवाको भूमिका महत्वपूर्ण रहेको स्थानीयले जानकारी दिएका छन् ।
संघीयताअघि गाउँमा स–साना विकास कार्यक्रम माग गर्न सदरमुकाम र केन्द्र धाउँदा वाक्क धाइरिङवासी संघीयता कार्यान्वयनसँगै धमाधम विकास बजेट भित्रिएपछि सन्तुष्ट छन् । उपभोक्ता समितिमार्फत हुने कतिपय साना योजनाको रकम माग गर्न सदरमुकाम धाउनुपर्ने दिन अब सकिएको अगुवा किसान एकनारायण पौडेलले बताउनुभयो । तीनै तहका सरकारबाट धमाधम बजेट आउँदा संघीयताको अनुभव हुन लागेको पौडेलको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्