त्रिभुवन आर्मी पुनः शीर्ष स्थानमा
सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मीले छैटौ जित निकालेको छ । जाउलाखेल विरुद्ध एक शुन्यको जित निकालेको आर्मी पुनः लिगको शिर्ष स्थानमा उक्लिएको छ ।
सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा भरत खवासको एकमात्र गोल निर्णायक बन्यो । त्यसो त आर्मीले पुरै खेलमा जाउलाखेललाई केहि दबाव दिएको थियो ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा पनि आर्मीले झन दबाव दिएको थियो । ७४ औं मिनेटमा आर्मीले गोलको खडेरी तोड्यो ।
सन्तोष तामाङले मैदानको करिव मध्य भागबाट दिएको पासलाई भरत खवासले उत्कृष्ट गोल गर्न सफल भए । जारी लिगमा भरतको यो चौथो गोल हो ।
त्यसपछि जाउलाखेलले पाएको मौकाको सदुपयोग गर्न नसक्दा आर्मीले एक शुन्यको झिनो अन्तरको जित निकाल्यो । यो जितपछि आर्मीले नौ खेलमा २० अंक बनाउँदै फेरी लिगको शिर्ष स्थानमा उक्लिएको छ ।
दोस्रो स्थानको मच्छिन्द्र क्लवको समान खेलबाट १९ अंक छ । यता पराजित जाउलाखेलको नौ खेलमा १२ अंक रहेको छ । लिगमा जाउलाखेलको तेस्रो हार हो ।
अर्को खेलमा सरस्वती युवा क्लबले पहिलो जित हात पारेको छ ।
अंक तालिकाको पुछारमा रहेको सरस्वती क्लबले जारी लिगमा पहिलो जित दर्ता गरेपछि तल्लो क्रममा रहेका अन्य टोली माथि दबाब बढेको छ ।
हाइस्कोरिङ म्याचमा सरस्वतीले १२ औं स्थानमा रहेको यति हिमालयन शेर्पालाई मंगलबार ४–३ ले हराउँदै लिगमा पहिलो जित निकालेको हो । यद्दपी टोली पुछारबाट उक्लन भने सकेन ।
५ अंक सहित नेपाल एपिएफ १३ औं स्थानमा छ भने सरस्वतीको ४ अंक पुगेको छ । सरस्वतीले यसअघि एउटा खेलमा बराबरी गरेको थियो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सरस्वतीलाई जित दिलाउन काजिम बुसारीले २, विनोद केसी र मनिष थापाले गोल गरेका थिए । शेर्पाका लागि आशिष गुरुङ, विजय श्रेष्ठ, रवि थापाले गोल गरे ।








प्रतिक्रिया राख्नुहोस्