तपाईँ सुन्दै हुनुहुन्छः

गमला बनाएर मासिक ५० हजार कमाई

सुरुङ्गा-झापाको बाह्रदशी गाउँपालिका–६ कुमालगाउँका सावित्रादेवी पण्डितले गमला बनाउन थालेको झण्डै तीन दशक पुगेको छ । उहाँले गमला बनाएर नै घर धान्नुभएको छ । शुरुमा गमलासहित दियो, पाला, खुत्रुके बनाउँदै आए पनि पछिल्लो समय गमलाको माग बढेपछि अहिले उहाँले गमला मात्रै बनाउनुहुन्छ । ग्रामीण क्षेत्रदेखि शहरसम्म नै गमलाको माग बढेपछि उहाँसहित उहाँका श्रीमान् रामेश्वर पण्डित बिहान सबेरैदेखि माटोको काममा निस्कनुहुन्छ ।

गमलाका लागि रामेश्वरले बिहानभरि मुछेको माटोलाई दिउँसो सावित्रादेवीले गमला बनाएर सुकाउनुहुन्छ । सावित्राले दैनिक झण्डै १०० वटा गमला बनाउने गर्छन् । ती गमलालाई सुकाएपछि रामेश्वरले भट्टीमा पकाउँछन् र त्यही गमला बेचेर पण्डित परिवारको जनजीविका चलेको छ ।

पण्डित दम्पतीले बनाएको गमला घरबाटै बिक्री हुन्छ । एउटा गमलाको होलसेल मूल्य रु ३० हो । बजारमा रु ५०–६० पर्ने गमलालाई पण्डित दम्पतीले घरबाटै व्यापारीलाई रु ३० मा बिक्री गर्नुहुन्छ । एक सातामा ५०० गमला बिक्री गर्ने पण्डित दम्पतीले महिनामा दुई हजार गमला बिक्री गर्नुहुन्छ । साताकै रु १५ हजार गमला बेचेर कमाई गर्ने पण्डित दम्पतीको मासिक कमाई रु ६० हजार हुने गरेको छ । त्यसो त माटो खरीदका लागि मासिक रु १० हजार छुट्याउने पण्डित दम्पतीले घरमै बसेर गमला बनाएर मात्रै मासिक रु ५० हजार आम्दानी गर्दै आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button