सभामुख र चिनियाँ राजदूत हउ यान्छीबीच भेटवार्ता

काठमाडौँ । नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीबीच शिष्टाचार भेटवर्ता भएको छ ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा आज दिउँसो भएको शिष्टाचार भेटमा राजदूत हउ यान्छीले चिनियाँ जनकंग्रेस (संसद)का अध्यक्ष ली झान्सुले पठाउनुभएको लिखित बधाई तथा शुभकामना सन्देश सम्माननीय सभामुख सापकोटाज्यूलाई प्रदान गर्नुभएको थियो ।
सभामुख सापकोटाले शुभकामनाका लागि धन्यवाद दिँदै नेपाल र चीनको सरकार, जनस्तर र संसदबीचको सम्बन्ध भोलिका दिनमा अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

विगतमा पनि नेपालको संसद र चिनियाँ जनकंग्रेसका बीचमा सम्बन्ध रहीआएको प्रसंग उल्लेख गर्नुहुँदै सभामुख सापकोटाले दुवै देशका संसदीय मैत्री समूहका माध्यमबाट सम्बन्ध अझै बिस्तार गर्ने विश्वास समेत दिलाउनुभयो ।
सभामुख सापकोटाले चीनमा पछिल्लो समय फैलिएको कोरोना भाइरस र त्यसलाई नियन्त्रणमा लिन राष्ट्रपति सी जिनफिङसहित चीन सरकारले गरेको प्रयासको सराहना गर्दै नेपाल पनि यस सन्दर्भमा चीनको साथमा रहेको बताउनुभयो ।
राजदूत हउ यान्छीले चिनियाँ जनकंग्रेसका अध्यक्षको तर्फबाट सभामुख सापकोटालाई चीन भ्रमणको निम्तो समेत दिनुभएको सभामुखको सचिवालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।








प्रतिक्रिया राख्नुहोस्