तपाईँ सुन्दै हुनुहुन्छः

व्यापारबृद्धि र आर्थिक विकासका क्षेत्रमा ढुक्क भएर काम गर्न नीजि क्षेत्रलाई अर्थमन्त्री खतिवडाको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यापारबृद्धि र आर्थिक विकासका क्षेत्रमा ढुक्क भएर काम गर्न नीजि क्षेत्रलाई आग्रह गर्नुभएको छ ।

६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले आज गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले भन्सार प्रशासनमा सुधार गर्दै व्यापार सहजीकरणका लागि नीजि क्षेत्रसँग सहकार्य गरेरै अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्सार कार्यलयहरुलाई प्रविधि मैत्री बनाउँदै पूर्वाधार निर्माण र व्यापार सहजीकरणमा सरकार अघि बढिरहेको स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री खतिवडाले भन्सारको कर्मचारीमा सदाचारिता कायम गर्दै स्वविवेकीय अधिकार कम गर्न भन्सार प्रशासनमा सुधार गर्दै लगिएको जानकारी दिनुभयो ।

उहाँले विधि बसाउन खोलिएका सम्पति सुद्धिकरण, राजश्व अनुसन्धानसँग त्रास र डर नमान्न र बैंकका व्याजदर बृद्धि, व्यापार घाटाजस्ता विषयमा अनावश्यक त्रास र चासो देखाउन आग्रह गर्नुभयो ।

अर्थमन्त्री खतिवडाले नेपाल विदेशी मुद्रा सञ्चितिमा दक्षिण एसियामा नै अग्रस्थानमा रहेकाले व्यापार घाटा बढेर मुलुकमा विदेशी मुद्रा सञ्चिति नहोला भन्ने त्रास मान्न आवश्यक नभएको स्पष्ट पार्नुभयो ।

अर्थसचिव राजन खनालले भन्सार विभाग व्यापार सहजीकरणको नेतृत्वदायी संस्था भएकाले यसले व्यवसायिक क्षेत्रले अनुभूति गर्ने गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्सार विभागसँग व्यापार सहजीकरण सँगसँगै नियन्त्रणको भूमिका पनि भएकाले विश्वभर एउटै प्रणाली र प्राविधिक विज्ञता प्रकट गर्नुपर्ने बताउनुभयो ।

राजश्व सचिव शिशिर कुमार ढुङ्गानाले भन्सार पूर्वाधारको विकास गर्दै विभाग आगामी आर्थिक बर्षभित्र डिजिटल पेमेण्टमा जान आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्सारमा मूल्याङ्कनका कागाजातहरु सही ढंगबाट प्रस्तुत गर्न र जोखिम व्यावस्थापन सूचकांक विश्लेषण आवश्यक रहेको बताउनुभयो ।

महालेखा नियन्त्रक गोपीनाथ मैनालीले व्यापार सहजीकरण र नियमन व्यवसाय मैत्री बनाउँदै भन्सार सुधारको प्रक्रियाहरु स्व–उत्साहित भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मुलुकी अर्थतन्त्रलाई चलायमान बनाउन भन्सारको विभागीय भूमिका रहने भएकाले भन्सारलाई भुक्तानी मैत्री र व्यवसायमैत्री बनाएर लैजान सुझाव दिनुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिष कुमार मोरले भन्सार प्रशासनमा धेरै सुधार भइरहेको भन्दै रक्सौल नाका तत्काल सुचारु गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button