तपाईँ सुन्दै हुनुहुन्छः

शुद्ध पानी वितरणका लागि सरकार गम्भीर : मन्त्री मगर

फाइल तस्बिर

भद्रपुर, झापा । खानेपानी मन्त्री बिना मगरले स्वच्छ वातावरण निर्माण र जनतालाई स्वच्छ पिउने पानी वितरणका लागि सरकार गम्भीर रहेको बताउनु भएको छ ।

झापामा बुधबार अपरान्ह आयोजित एक समारोहका बीच मन्त्री मगरले त्यसका लागि सरकारले दीर्घकालीन योजनाका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

मन्त्री मगरले जनताले खानेपानीमा ठूलो समस्या भोग्नुपरेको र सरकारले सीमित स्रोत र साधनबाट बृहत् खानेपानी योजना निर्माण कार्यलाई तीव्रता दिँदै आएको स्पष्ट पार्नुभयो । उहाँले अझै पनि पानीमा शुद्धता र पर्याप्तताको खाँचो रहेको औंल्याउनुभयो ।

खानेपानीको क्षेत्रमा सरकारले अगाडि बढाइरहेका कामहरुका बारे जानकारी दिँदै मन्त्री मगरले साना सहरी खानेपानीमार्फत तराईमा तीन वटा ठूला आयोजनाहरुको डिपिआर भइरहेको र सात वटा साना योजनाको सम्भाव्यता अध्ययन भएको उल्लेख गर्नुभयो । उहाँले ती आयोजनाको निर्माण कार्य पूरा भएपछि १ नं प्रदेशमा स्वच्छ खानेपानी पुग्ने र खानेपानीको समस्या समाधान हुने बताउनुभयो ।

मन्त्री मगरले डीप बोरिङबाट दीर्घकालीन रुपमा खानेपानीको समस्या समाधान नहुने भन्दै ठूला नदीबाट पानी ल्याएर प्रशोधन गरी वितरण गर्ने योजनामा सरकार लागिपरेको बताउनुभयो भने सरकारले पाइलट प्रोजेक्टका रुपमा मानव मलमूत्रीय फोहोर प्रशोधन केन्द्र गरेको र यसलाई देशव्यापी बनाउने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button