तपाईँ सुन्दै हुनुहुन्छः

विकट बस्ती जोड्न दुई वटा सडकमा धमाधम काम हुँदै

दार्चुला-मार्मा गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर ३ का विकट बस्ती जोड्ने गरी धमाधम सडक निर्माण भइरहेको छ । स्थानीय सरकारको पहिलो प्राथमिकतामा परेका दुवै सडकलाई विकट ग्रामीण बस्तीसम्म पु¥याउने लक्ष्यका साथ काम भइरहेको हो ।

सडक सञ्जालमा नजोडिएका बस्तीलाई सडकको पहुँचसम्म ल्याउन गत वर्षदेखि स्थानीय सरकारले सडक निर्माणमा प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताउनुभयो ।

गाउँपालिकाको सबैभन्दा ठूलो बस्ती रहेको वडा नम्बर १ को जुडे, दर्मा, ताकु, घोल्जर तोलीमाडाँै, दह र लोयोलगायतका बस्तीसम्म सडक पु¥याउने गाउँपालिकाको योजना छ । गाउँपालिका–१ को पारिबगरदेखि घोल्जरसम्म कूल २३ किलोमिटर सडक निर्माण हुने गाउँपालिकाका सब–इञ्जिनियर विक्रम जोशीले जानकारी दिनुभयो ।

गत वर्षबाट सडक निर्माणले गति लिएको हो । यो सडकमा हालसम्म झण्डै रु ५० लाख खर्च भएको छ । अहिलेसम्म साढे तीन किलोमिटर क्षेत्रसम्म सडकको ट्र्याक खुलाइएको छ । वडा नम्बर १ को दर्मधार बस्तीसम्म सडकको ट्र्याक खुलेसँगै जीप पुगेको गाउँपालिका–१ का वडाध्यक्ष वीरेन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।

सडक दुर्गम बस्तीसम्म पुग्न थालेपछि स्थानीयवासी खुशी भएका छन् । साविकको गाविस हुँदा पनि स्थानीयवासीले सास्ती भोग्दै आएका थिए । जनसङ्ख्याको हिसाबले यो वडा सबैभन्दा ठूलो छ । यो वडामा तीन हजारभन्दा बढीको बसोबास छ । लोया बस्ती सबैभन्दा विकट बस्ती हो । लोया, दह र तोलीमाडौँमा मात्र झण्डै १०० घरधुरीको बसोबास छ ।

यो वर्ष पारिबगर घोल्जर सडकका लागि झण्डै रु एक करोड बजेट विनियोजन भएको छ । नेपाल सरकारको समपूरक विशेष अनुदानअन्तर्गत यो सडक बन्न लागेको हो । सडक निर्माणको बोलपत्र गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । यस्तै गाउँपालिकाकै वडा नम्बर ३ को बजानी बस्ती जोड्ने गरी सडक निर्माण भइरहेको छ । लटिनाथ बजार क्षेत्रबाट सार्सी हुँदै अन्तिम बस्ती बजानीसम्म सडक पुगेको छ । लटिनाथदेखि बजानीसम्मको साढे ६ किलोमिटर क्षेत्रमा सडकको ट्र्याक खुलाइएको वडाध्यक्ष पुष्कर विष्टले जानकारी दिनुभयो ।

सडक नहुँदा वडा कार्यालय र गाउँपालिका सदरमुकाम पुग्न घण्टौँ समय लाग्ने गरेको थियो । सडकको पुगेसँगै स्थानीयवासीलाई राहत हुने विष्टको भनाइ छ । अहिले सडकको ट्र्याक खुला गरिएको छ । सडक स्तरोन्ति भएपछि नियमित सवारी चलाउन सकिने उहाँले बताउनुभयो । यो सडकलाई बैतडीको डिलाशैनी गाउँपालिका–१ दुनीमा जोडिने छ । स्थानीय सरकार बनेपछि सडक नपुगेको बस्तीलाई जोड्ने योजना अघि सारिएको हो । गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ अझै सडकले जोडिएको छैन ।

विटुले पारिबगर सडकले गाउँपालिकाको वडा नम्बर १, २ र ३ का केही बस्ती छोएको छ । सडक नपुगेको क्षेत्रमा घोरेटो बाटो निर्माण गरिएका छन् । फराकिला घोरेटो बाटोमार्फत अहिलेलाई बाटो सुधार गरिएको गाउँपालिकाका सब–इञ्जिनियर जोशी बताउनुहुन्छ । दुई सय आठ दशमलव छ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको गाउँपालिकाको जनसङ्ख्या झण्डै १५ हजार छ ।

भूगोलको हिसाबले विकट ठाउँमा बस्ती भएका कारण वडा नम्बर ६ को शेरी र वडा नम्बर ५ को मुरैसम्म सडक पु¥याउन कठिन छ । यो क्षेत्रलाई खलङ्गा नौगाड सिप्टी हुँदै मार्मा अपि हिमाल जोड्ने गरी सडक बनाउने योजना छ । सुदूरपश्चिम प्रदेश सरकारमार्फत नौगाड र मार्मा जोड्ने गरी सडक निर्माण हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button