तपाईँ सुन्दै हुनुहुन्छः

सचेतनाका लागि ट्राफिक कक्षा सञ्चालन गरिँदै

चिप्लेढुङ्गा।सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक कार्यालयले ट्राफिक कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको पछिल्लो छ महिनाको तथ्याङ्कमा सवारी दुर्घटनामा ज्यान गुमाउने सङ्ख्या गत वर्षको भन्दा दोब्बर बढी देखिएको छ ।

आर्थिक वर्ष २०७६÷७७ को को पछिल्लो छ महिनामा ६५ सवारी दुर्घटनाबाट २७ ले ज्यान गुमाइसकेका छन् । पचास जना गम्भीर र २७ सामान्य घाइते भएका छन् । आव २०७५÷७६ को साउनदेखि पुससम्मको तथ्याङ्कमा ४२ सवारी दुर्घटनामा ११ ले ज्यान गुमाएका थिए भने ३५ गम्भीर र १२ साधारण घाइते भएको तथ्याङ्क छ ।

राजश्व सङ्कलनमा भने आव २०७५÷७६ को भन्दा २०७६ ÷७७ मा वृद्धि भएको छ । गत आर्थिक वर्षको छ महिनामा २८ हजार ६५० सवारीसाधन कारवाहीबाट रु एक करोड ९४ लाख छ हजार राजश्व सङ्कलन गरिएको थियो भने मापसेको कारवाहीमा ५३० परेका थिए भने रु पाँच लाख ३० हजार राजश्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्षको छ महिनामा भने कारवाही सङ्ख्या बढेर ३२ हजार ६०० पुगेको छ । रु दुई करोड ५० लाख ९९ हजार राजश्व सङ्कलन भएको छ भने मादकपदार्थ सेवन कारवाहीमा एक हजार २९८ परेका छन् । मापसे कारवाहीबाट रु १२ लाख ९८ हजार राजश्व सङ्कलन गरिएको छ ।

जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख सन्तोष रोकाले बढ्दो सवारी दुर्घटना रोक्न ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी भएको जानकारी दिनुभयो । “हामी दुर्घटना न्यूनीकरणको अभ्यास गरिरहेका छौँ तर सवारी चलाउने चालक नै गम्भीर भएको पाइँदैन । विशेष कक्षामार्फत सचेतना जगाउने तयारी गरिरहेका छौँ”, उहाँले सवारी दुर्घटना मान्छे जीवनसँग प्रत्यक्ष जोडिने भएकाले यस विषयमा सवारी चालकलाई सचेत गराउन प्रत्येक हप्ता दुई वटा कक्षा सञ्चालन गरेर ५० लाई सचेतना तालीम दिने कार्यक्रम ल्याउन लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बढ्दो सवारी दुर्घटनाप्रति हामी निकै चिन्तित छौँ । अब संस्थागत रुपबाटै विभिन्न सङ्घसंस्थासँग समन्वय गरेर हप्तामा दुई कक्षा २५ जनाको दरले ५० जनालाई सचेतना कार्यक्रम गर्नेछौँ ।” उहाँले ट्राफिक कार्यालयको नवनिर्मित भवन सम्पन्नपश्चात यस कार्यक्रमलाई लागू गर्ने बताउनुभयो ।

सार्वजनिक र प्राइभेट चालक, सवारी धनी, बोर्डिङ स्कूलका बस चालक सबैलाई सचेतना तालीम कक्षामा सहभागि गराइने उहाँको भनाइ छ । लामो समयदेखि माइक्रोबस चलाउँदै आउनुभएका चालक धनबहादुर थापाले साँघुरो बाटो, यात्रुले जहाँ पायो त्यहीबाट बाटो काट्ने, ओभरटेक गर्ने, मापसे गरेर सवारीसाधन चलाउँदा दुर्घटना हुने गरेको बताउनुभयो ।

ट्राफिक व्यवस्थापनमा स्वयंसेवा सेवा गर्दै आउनु पत्रकार शिवराज बस्ताकोटीले सवारीसाधन चालकले ट्राफिक नियमको पालना गरेर सवारी चलाए धेरै मात्रामा दुर्घटना कम हुने बताउनुहुन्छ । यात्रा गर्दा हतारिएर गर्ने जहाँ पायो त्यहीँबाट ओभरटेक गर्न चालकको बानीले दुर्घटना हुन्छ । उहाँले हतारको मनस्थितिमा अधिकांश चालक भेटिन्छन् । ट्राफिक नियमको बारेमा सम्झाउँदा बुझाउँदा झर्केने, सबै जानेका छौ भन्ने तर व्यवहारमा लागु नगर्ने चालकको बानीले दुर्घटना हुने गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button