तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली र मोदीबाट संयुक्तरुपमा एकीकृत भन्सार जाँचचौकी उद्घाटन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरमा निर्मित एकीकृत जाँच चौकी मङ्गलबार भिडियो कन्फ्रेन्सका माध्यमबाट संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीबाट एकै समयमा ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गर्नुभएको हो । उद्घाटनका अवसरमा ओली र मोदीले संक्षिप्त सम्बोधनसमेत गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले अङ्ग्रेजी भाषामा सम्बोधन गर्नुभयो भने मोदीले नेपाली र हिन्दी भाषामा सम्बोधन गर्नुभएको हो ।
संवोधनको क्रममा भारतिय प्रधानमन्त्री मोदीले नयाँ वर्ष २०२० को शुभकामना समेत दिदैं नयाँ वर्षमात्र नभएर नयाँ दशकको सुरुवात भएको बताउनुभयो ।

मोदीले नयाँ वर्ष र नयाँ दशकको सुरुवातमै नेपाल र भारत शुभकार्यमा सामेल भएको भन्दै एकीकृत जाँच चौकी निर्माण हुनु दुई देशबीचको साझेदारीको एउटा उदाहरण रहेको बताउनुभयो । पाँच महिनामा दोस्रो पटक यस प्रकारको भिडियो कन्फ्रेन्सबाट दुई अलग परियोजना उद्घाटन भएको भन्दै उहाँले यसलाई प्रविधिको विकासको उदाहरणका रुपमा समेत प्रस्तुत गर्नुभयो ।

संवोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारत दुवै मुलुकमा स्थिर र बहुमतको सरकार रहेका कारण आपसमा अल्झिएका मुद्दाहरुलाई मिलेर सुल्झाउन सकिने बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपाल र भारत भूगोल, इतिहास, संस्कृतिले सदियौंदेखि निकट रहँदै आएको चर्चा गर्दै आगामी दिनमा आपसी सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौंकी १ सय २९ बिघा क्षेत्रमा तयार गरिएको छ । चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि शुरु भएको थियो ।

भारत अहमदावादका दिनेशचन्द्र आर अग्रवालले भारतीय रु एक अर्ब १४ करोड लागतमा निर्माण गर्न ठेक्कामा लिएका थिए ।

विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button