एकातिर सरकारी ऐन, अर्कोतिर देउताको डर

दैलेख। गृह मन्त्रालयको निर्देशनमा कर्णाली प्रदेश र सुदुरपश्चिममा धमाधम छाउपडी गोठ भत्काउने अभियान चलिरहेको छ । सरकारले जवरजस्ती गोठ भत्काउनु नारीलाई न्याय दिलाएको महसुस अधिकारकर्मीहरुले गरिरहेका छन् । गोठ भत्काई सकेपछि ती नारीले कसरी रात विताउलिन भन्नेमा सरकारले हेक्का राखेको छैन । गोठ भत्काउने वित्तिकै ती नारी घर भित्र जालिन त । विगतदेखी मान्दै आएको छुई प्रथालाई ती महिलाका आमा बाबु, सासु ससुराले सहज स्वीकार गर्लान् त भन्ने आशंका व्याप्त छ । गोठ भत्काउने वित्तिकै महिनावारी भएकी महिलाले देवी देवताको डर मान्न छोडेर घरमै वस्लिन् त ? यो प्रथासँग संस्कार जोडिएकाले गृह मन्त्रालयको निर्देशन बमोजिम सजिलै न्यूनिकरण होला ? जस्ता यावत प्रश्नहरुले चोक चौतारो तताएको छ ।
सरकारी ऐन छाउपडी प्रथालाई कुरिती मान्नु राम्रो भएपनि तत्कालै गोठ भत्काउनु उचित नभएको आठविस नगरपालिकाका स्थानीयबासी राजवहादुर शाही वताउनु हुन्छ । “आजभोली महिला दोधारमा छन् । सरकारी ऐन मान्नेकी देउता मान्ने । देवताले नछुने भएको बेला घर बाहिर जा भन्छ । सरकारले कुरिती र अन्धविश्वास हो भनेर घरमै बस भन्छ । हामी दोधारमा परेको ठाँटिकाँध गाउँपालिकाकी स्थानीय महिला राजकुमारी शाहीले वताउनुभयो ।
छाउगोठ भत्काए पनि अझै पनि अधिकाँश महिलाले ग्रामिण भेगमा लुकी÷लुकी छाउ बार्ने गरेको ठाटिकाँध गाउँपालिकाका उदयराम रावतले बताउनुभयो । रावतले हामीले छाउ हुँदा घरमै बस भन्छौं । देवी देउताले बालबालिकालाई विरामी बनाई दिने हुनाले आउन नै मान्दैन । महिलाले नै छाउ बार्ने गरेको बताउनुभयो । बरु सरकारले व्यवस्थित छाउगोठ बनाउन लगाउँदा राम्रो हुन्छ । छाउ भएकै बेला सर्प टोक्छ भन्नु गलत हो । रावतले भन्नुभयो घरमै सुतेका कतिपय मान्छेको सर्प टोकेर मृत्यु भएको छ ।

ग्रामिण भेगमा पत्रपत्रिका पुग्दैनन् । पुगेपनि अधिकाँश महिला बुढापाकाले पढ्न जान्दैनन् । घरायसी कामले गर्दा रेडियो सुन्ने फुर्सद हुदैन । त्यस्तो ठाउँमा बेलुकापख बस्ती बस्तीमा भिडियो मार्फत कानुन र नछुने हुँदा भोग्नुपर्ने पिडाको बारे जनचेतना जगाउन सके न्यूनिकरण हुन सक्ने नेपाली काँग्रेस दैलेखका सहसचिव रत्नबहादुर शाहीले बताउनुभयो । स्थानीय सरकारले बस्तीमा सामुदायिक भवन बनाई बेलुकापख कानुन सम्बन्धित कुरा प्रसारण गर्न लगाउने कु–संस्कार छाउपडी प्रथाले दिगो विकासमा कसरी असर गरेको छ भन्ने चेतना मुलुक कार्यक्रम देखाउँदा राम्रो हुने शाहीको भनाई छ ।
दैलेखमा २ सय ६ छाउगोठ भत्काईयो
गृह मन्त्रालयको निर्देशनसँगै दैलेखमा २ सय ६ वटा छाउ गोठ भत्काईएको छ । २०७६ पुस २१ देखी माघ ४ सम्म छाउगोठ भत्काउने अभियानमा २ सय ६ छाउगोठ भत्काईएको हो ।
दैलेखको पश्चिममा पर्ने आठविस नगरपालिकामा सबैभन्दा बढी छाउगोठ भत्काईएको छ । सुदुरपश्चिमको अछामसँग आठविस नगरपालिकाका नजिकै भएकाले त्यहाँ सबै भन्दा बढी १ सय १२ छाउगोठ भत्काईएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । त्यसैगरि भैरवी गाउँपालिकामा ५८, दुल्लू नगरपालिकामा १३, गुराँस गाउँपालिकामा ३, चामुण्डाविन्द्रासैनी नगरपालिकामा २० छाउ गोठ भत्काईएको दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी ईन्द्रवहादुर क्षेत्रीले वताउनुभयो ।
तर पश्चिमको ठाटिकाँध गाउँपालिका, पुर्वको भगवती गाउँपालिका, महाबु गाउँपालिका र नौमुले गाउँपालिकामा एउटा पनि गोठ भत्काईएको छैन । ठाटिकाँध गाउँपालिकामा छुट्टै छाउपडी गोठ नभएको घरकै गाई गोरु बाँध्ने ठाउँमा छुईनेरी बस्ने गरेकाले गोठ भत्काउँदा घर भत्किने हुनाले गोठ नभत्काईएको जिल्ला प्रहरी दैलेखका प्रहरी निरिक्षक नैनबहादुर साउदले जानकारी दिनुभयो । म आफै ठाटिकाँध गएको छु । छुट्टै गोठ छैन । छुईनेरी घरकै गोठमा बस्ने गरेकाले गोठ भत्काउँदा घर भत्किने हुनाले छाउपडी बार्ने गर्दा कानुन लाग्छ भनेर सम्झाई बुझाई गरेको प्रहरी निरिक्षक साउदले वताउनुभयो । छाउगोठ भत्काउन बाँकी रहेका महाबु, भगवती, नौमुले र डुगेश्वर गाउँपालिकामा पनि त्यस्तै समस्या भएको हुन सक्ने प्रहरी निरिक्षक साउदले वताउनुभायो ।






प्रतिक्रिया राख्नुहोस्