भ्रमण वर्ष ‘एक महिना, एक कार्यक्रम’
गलकोट-नेपाल भ्रमण वर्ष २०२० मा आउने पर्यटकलाई लक्षित गरि बागलुङका होटल व्यवसायलाई पर्यटकमैत्री बनाइने भएको छ । बागलुङ पर्यटन विकास समितिले ‘एक महिना, एक कार्यक्रम’ अनुसार पहिलो महिना पोखरामा सफल ठानिएका लेकसाइडका होटल रेष्टुराँको अध्ययन अवलोकन गर्ने भएको छ ।
बागलुङ उद्योग वाणिज्य सङ्घ, बागलुङ पर्यटन विकास समिति र बागलुङ होटल तथा रेष्टुराँ व्यवसायी समितिको संयुक्त आयोजना तथा होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको संयोजनमा पोखरामा सञ्चालित होटल तथा रेष्टुराँ व्यवसायको अध्ययन गरिने बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।
पर्यटनका लागि पोखरामा होटल व्यवसाय सफल र चर्चा गर्न लायक मानिन्छ । भ्रमणले बागलुङ जिल्लाका होटल तथा रेष्टुराँ व्यवसायीको व्यावसायिक ज्ञान, सीप, क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ । पर्यटन विकास समितिका अनुसार आगामी माघ ८ गतेदेखि १० गतेसम्म पोखराको लेकसाइडका होटलको अवलोकन, स्वदेशी तथा विदेशी पर्यटकलाई स्वागत, सत्कार र सेवा प्रदान गरिरहेका होटल व्यवसायीसँग अनुभव आदानप्रदान गरिनेछ ।
साथै नेपाल सरकार र गण्डकी प्रदेश सरकारसँग पर्यटन नीति तथा कार्यक्रमको विषयमा जानकारी लिने, बागलुङका व्यवसायीको समस्या अवगत गराउने, बागलुुुुङमा सरकार र व्यवसायीबीचको सहकार्यमा पर्यटन प्रवद्र्धनका कार्यक्रम बनाउने, गण्डकी प्रदेश उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीसँग भेटघाट तथा अन्तक्र्रिया गर्ने योजना रहेको छ ।
भ्रमणका क्रममा पोखराका स्थानीय व्यक्तित्व तथा पोखरामा आउने पर्यटकलाई बागलुङसम्म ल्याउनका लागि निमन्त्रणासमेत गर्ने योजना राखिएको छ । भ्रमणका क्रममा होटल तथा कर्मचारीको सरसफाइ, अतिथि सत्कार, स्वादिष्ट खानाका परिकार, पर्यटकलाई आकर्र्षित र सन्तुष्टि दिलाउनेलगायतका विषयमा नयाँ जानकारी प्राप्त गरी बागलुङका होटललाई पर्यटनमैत्री बनाउन पहल थालिने समितिले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्