छिमेकीको कुटपिटबाट दुईजना आरक्षपीडित महिला घाइते
कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर १ टाइगरबस्ती बस्ने दुई जना आरक्षपीडित महिला छिमेकीको कुटपिटबाट घाइते भएका छन् ।
अन्दाजी ३३ वर्षीय छिमेकी दलबहादुर शाहको कुटपिटबाट वर्ष ३१ की ईश्वरी खड्का र वर्ष २४ की गीता खड्का घाइते भएको बताइएको छ ।
उनीहरु माथि शुक्रबार कुटपिट भएको र प्रहरीलाई जानकारी दिएपछि पीडक दलबहादुरलाई इलाका प्रहरी कार्यालय बेलडाँडीले नियन्त्रणमा लिई थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
महिनावारी भएको समयमा आफ्नो घर अगाडीबाट हिँडेको भन्दै दल बहादुरकी श्रीमति निरुता शाहले देवरानी गीता खड्कालाई गाली गलौज गरेको र त्यस्तो नगर्नु भनी सम्झाउँदा दल बहादुरले आफुहरु माथि कुटपिट गरेको ईश्वरी खड्काले बताएकी छन् । शाह परिवारले विगत लामो समयदेखि आफुहरुलाई आवतजावत गर्न अवरोध गर्दै आएको उनीहरुको भनाइ छ । घाइते दुवै जनाको बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि कैलालीको धनगढी रेफर गरिएको बताइएको छ । उनीहरुको नोभा हस्पिटलमा उपचार भइरहेको छ ।
तर पीडक भनिएका दल बहादुर शाहले भने आफ्नो जमिनमै रहेको खेतको आलिबाट उनीहरुलाई हिँडडुल गर्न दिएको भएपनि खेतबारी नै मासिने गरी आवतजावत गर्ने गरेकोले त्यसो नगर्न भनी सम्झाउँदा यो ठाउँमा जमिन किन किनेको भनी उल्टै झगडा गर्ने गरेको आरोप लगाएका छन् । आफ्नो श्रीमतिसंग झगडा गर्न आएका उनीहरुलाई छुटाउन जाँदा उल्टै आफुमाथि उनीहरुले आक्रमण गर्न थालेपछि विवाद बल्झिएको उनको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्