डडेल्धुरामा योग दिवस मनाईयो

डडेल्धुरा । योग ध्यान र प्राणायामको सुत्र बिधि मानिने योगलाई डडेल्धुरामा पनि राष्ट्रिय योग दिवसका रुपमा आज भव्यताका साथ मनाईएको छ ।
“गरौं योग रहौं निरोग” भन्ने मूल नारा रहेको योगलाई राष्ट्रिय एकता र योगको सान्दर्भिकतासँग जोडेर पाँचौं राष्ट्रिय योग दिवस पतंजली योग भवन कीर्तिपुर डडेल्धुरामा औपचारिक कार्यक्रमका साथ सम्पन्न भएको हो ।
जिल्ला प्रशासन कार्यालयको संयोजन र पतंजली योग समिति डडेल्धुराको आयोजनामा मनाईएको दिवसमा मानव जीवनको स्वास्थ्य तथा चित्तबृति विकासका लागि योग अपरिहार्य रहेकोले योगलाई दैनिकीसँग जोडन जोड दिईएको छ ।
पतंजली योग समिति डडेल्धुराका महिला प्रभारी चित्रा भट्टको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको दिवसमा योग प्रशिक्षक खेमराज पनेरुले कविता बाचन, पतंजली योग समिति अमरगढी प्रभारी बलराम पनेरुले गिति सन्देश बाचन र योग प्रशिक्षक तथा प्रदेश कोषाध्यक्ष भट्टले योगका बिबिध आयामहरुका बारेमा प्रकाश पार्नु भएको थियो ।
पतंजली योग समिति सुदूरपश्चिम प्रदेश उपाध्यक्ष गोबिन्द खडायतले पतंजली योगमार्फत डडेल्धुरामा योगकर्मको बिस्तार र विकास भईरहेको र संघर्षको फलस्वरुप योगलाई पाठ्यक्रममा समाबेश पनि हुनु खुशीको विषय भन्दै नागरिक स्वस्थ भए मात्र राष्ट्रशान्ति समृद्धि सम्भव भएको जिकिर गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले योग साधनालाई राज्यले आत्म साथ गरेको, स्वामित्व र अपनत्व ग्रहण पनि गरिसकेको सन्दर्भमा योगलाई मानिसको सकारात्मक जीवनशैलीसँग गाँसेर लैजानु पर्ने भन्दै दिवसको सफलताका लागि शुभकामना पनि व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्