तपाईँ सुन्दै हुनुहुन्छः

प्रविधि मैत्री बन्दै सुदूरपश्चिम प्रदेश

अत्तरिया कैलाली । सुदूरपश्चिम प्रदेश सभासँग अब सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरू पनि जोडिने भएका छन् ।प्रदेश सभाको गतिविधि र स्थानीय तहको विषयमा छलफल गर्न सुदूरपश्चिम प्रदेशमा ‘भिडियो कन्फ्रेन्स’ सुरु हुन लागेको छ ।

युएनडिपीको सहयोगमा नौ वटै जिल्लामा भिडियो कम्फ्रेन्सका लागि उपकरणहरू जडान गरिएको हो ।

प्रदेशसभालाई स्थानीय तहसँग समन्वय र छलफलका लागि भिडियो कन्फ्रेन्स सुरु गर्न लागिएको सभामुख अर्जुन बहादुर थापाले बताउनुभयो ।

सभामुख थापाले यस विषयमा आज पत्रकार सम्मेलन गरेर जानकारी गराउनु भएको हो । प्रदेशसभालाई अझै प्रभावकारी बनाउन प्रदेश सभा भवनमा थप प्रविधि जडान गरिएको उहाँले बताउनुभयो ।

कैलाली बाहेक अन्य सबै जिल्लाका समन्वय समितिमा यो प्रविधि जडान गरिसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । कैलालीको लागि भने टीकापुर नगरपालिकामा यो जडान गरिएको छ ।

प्रदेश सभा र जिल्ला समन्वय समिति एउटै परिसरमा रहेका कारण यसैबाट काम हुने प्रदेशसभा सचिवालयको भनाई छ ।

सुदूरपश्चिम प्रदेशमा जडान गरिएको भिडियो कन्फ्रेन्सको परीक्षण समेत भइसकेको प्रदेशसभा सचिवालयका नासु भुरी प्रसाद जोशीले बताउनुभयो ।

प्रदेश सभाले आगामी माघ ६ गतेदेखि सुरु हुन लागेको हिउँदे अधिवेशनको प्रत्यक्ष प्रसारण गर्ने तयारी सुरु गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button