तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारलाई भोली निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौँ । आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि भोली उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराउनु भएका उम्मेदवारहरूले नाम फिर्ता लिन चाहेमा आज अपरान्ह ४ः०० बजेसम्मको कार्यतालिका निर्धारण गरेकामा कुनै पनि उम्मेदारले नाम फिर्ता नलिनु भएकाले भोली दिनको १ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी सात वटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सातवटा प्रदेशमा महिला समूहतर्फ ७, दलित समूहतर्फ २, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ २ र अन्य समूहतर्फ ७ गरी जम्मा १८ रिक्त पदका लागि हुने निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली काँग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चासहित ६ वटा राजनीतिक दलका तर्फबाट जम्मा ४५ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराउनु भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button