तपाईँ सुन्दै हुनुहुन्छः

बसपार्कको निर्माण तीव्रगतिमा

बागलुङ-बागलुङ बसपार्कको निर्माण कार्य तीव्रगतिमा भइरहेको छ । ठेक्का सम्झौताअनुसार सरासर काम भएमा आउँदो वैशाखभित्रै बागलुङ बसपार्क बनिसक्नुपर्छ । अहिलेसम्म निर्माणको भौतिक प्रगति ५० प्रतिशत नाघेको छ ।

बागलुङ नगरपालिका–४ उपल्लाचौरमा निर्माणाधीन बसपार्कका लागि विसं २०५८ देखि जग्गाको जोहो गर्न थालिएको थियो । बसपार्क बन्ने आशमा झण्डै रु एक अर्ब पर्ने १७ रोपनी जग्गा स्थानीयवासीले निःशुल्क उपलब्ध गराएका थिए । जग्गा व्यवस्थापन भए पनि बसपार्क निर्माणको योजना अलपत्र थियो ।

बागलुङ नगरपालिकाले विसं २०७४ फागुनमा नगर विकास कोषसँग ऋण सम्झौता गरेपछि बसपार्क बन्ने निश्चित भएको थियो । विसं २०७५ कात्तिकमा ठेक्का टुङ्गाएपछि गएको फागुन १५ गतेदेखि ‘आशिष फेवा जेभी’ले निर्माणको काम थालेको हो । तत्कालीन शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले बसपार्कको शिलान्यास गर्नुभएको थियो ।

बसपार्कको मुख्य संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको बागलुङ नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ‘टर्मिनल’ भवनसहित बसपार्कको मैदान चौडा बनाउने काम सकिएको छ । व्यावसायिक भवन निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button