थारु समुदायको संस्कृति संरक्षण र जगेर्ना गर्न पुस २७ देखि ‘खिचरा महोत्सव’ हुँदै

चितवन । माघ १ गते आदिवासी थारुहरुको नयाँ वर्षको अवसर पारेर सातौं खिचरा महोत्सव मनाउने तयारी गरिएको छ । हराउंँदै गएको थारु सस्कृतिको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले बर्षेनी खिचरा महोत्सव गरिदै आइएको छ ।
चितवनका थारु समुदायले नयाँ वर्ष मनाउन बर्षेनी आयोजना हुँदै आएको खिचरा महोत्सवको सातौँ संस्करण पुस २७ देखि माघ ८ गतेसम्म खैरहनी नगरपालिकामा हुन गइरहेको छ ।
खिचरा महोत्सवको आयोजक संस्था थारु कल्याणकारिणी सभा क्षेत्र नम्बर ७ खैरहनीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी खिचरा महोत्सवबारे जानकारी गराएको हो ।
कार्यक्रममा बोल्दै महोत्सव आयोजक मूल समितिका संयोजक चुडामणी चौधरीले थारु संस्कृतिको संरक्षण र जगेर्ना गर्दै पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले खिचरा महोत्सवको आयोजना गरिएको बताउनु्भयो । उहांँका अनुसार थारु सस्कृति झल्काउने लगायत एक सय ५० वटा स्टल रहने छन ।
महोत्सवमा थारु समुदायको ब्रह्मथान, थारु गाउँको नमुना, घोँगी र चिचरका बिशाल मूर्ती विशेष आकर्षणका रुपमा रहने उहांँले जानकारी दिनुभयो ।
थारु अगुवा वासुदेव चौधरीले ब्रह्मथान थारु समुदायको सामूहिक पूजास्थल भएको जानकारी दिनुभयो । उहांँका अनुसार ब्रह्मथानमा धान रोप्ने बेला असारमा र धान काटेपछि मंसिरमा सामूहिक पूजा गरिन्छ । खिचरामा थारु समुदायले अनदीको चामलबाट बनाइने विशेष परिकार चिचर खाने गर्छन् ।
पत्रकार सम्मेलनमा थारु कल्याणकारिणी सभाका जोखा चौधरी, ललित चौधरी, चन्द्राकुमारी चौधरी लगायतले महोत्सवको आयोजना र थारु सँस्कृतिबारे प्रकाश पार्नु भएको थियो ।
पश्चिमी नेपालका थारु समुदायले माघीको रुपमा मनाउने नयाँ वर्ष पूर्वी र मध्य नेपालका थारुहरुले खिचराको रुपमा मनाउने गर्दछन ।








प्रतिक्रिया राख्नुहोस्