५० जनाले रोजगारी पाउने गरी बन्दिपुरमा भ्यु प्वाइन्ट बनाइने
तनहुँ-तनहुँको ऐतिहासिक एवं पर्यटकीय नगरी बन्दीपुरमा सिसाको भ्यु प्वाइन्ट बनाइने भएको छ । पर्यटकीय क्षेत्र भएकाले सहज रूपमा वन तथा ऐतिहासिक क्षेत्रको अवलोकनका लागि भ्यु प्वाइन्ट बनाइने भएको गाउँपालिकाले जनाएको छ ।
बन्दीपुर गाउँपालिकाको लगानीमा सो भ्यु प्वाइन्ट बन्ने भएको हो ।
गाउँपालिकाका अध्यक्ष पूर्ण्सिंह थापाले ३ करोडको लागतमा बन्दीपुरमा भ्यु प्वाइन्ट निर्माण गरिने बताउनुभयो । फाउन्डेसन निर्माणका लागि २ करोड र बाहिरी भाग निर्माणका लागि १ करोड रुपैयाँ खर्च लाग्ने अध्यक्ष थापाले जानकारी दिनुभयो । ‘बन्दीपुर गाउँपालिका(४ टुडिखेलमा ६ सय मिटर गहिराइको भ्यु प्वाइन्ट निर्माण गरिनेछ,’ थापाले भन्नुभयो ।
उक्त भ्यु प्वाइन्टबाट विश्वका ८ हजार मिटरभन्दा अग्ला चारवटा हिमाल प्रत्यक्ष देख्न सकिने उहाँको दावी छ । भ्यू प्वाइन्टको डिपिआरसमेत तयार भइसकेको थापाले बताउनुभयो । चमेना गृह, कार्यक्रम स्थल तथा व्यवस्थित शौचालय, सांस्कृतिक संग्राहालय (सबै जातिको सांस्कृतिक, पहिरन, सामग्री) निर्माण गर्नुका साथै फुलको बगैंचासमेत निर्माण गरिनेछ।
हिमालको मनोरम दृश्य हेर्नको लागि माइस्क्रोपको समेत व्यवस्था गरिने अध्यक्ष थापाले बताए। पर्यटकीय क्षेत्र भएकाले उक्त क्षेत्रमा भ्यू प्वाइन्ट निर्माणपश्चात् अझ पर्यटक बढ्ने अपेक्षा लिइएको छ । बन्दीपुर सबैजसो मौसममा घुम्न र मनोरञ्जनका लागि उपयुक्त स्थान भएकाले पनि त्यस क्षेत्रमा पर्यटक आउने गर्दछन्। भ्यु प्वाइन्टबाट धौलागिरी, अन्नपूर्ण, मनास्लु, गौरीशंकर हिमालका साथै ऐतिहासिक चुँदी रम्घा, लिगलिगकोट दरबार, डुम्रे बजार, च्याङ्लीङ फाँट, हरियाली डाँडाकाँडा, नागवेली परेको मस्र्याङ्दी नदीको मनोरम दृश्य हेर्न सकिने स्थानीय समाजसेवी गोवर्धन भट्टराईले बतानुभयो ।
चारै भागमा सिसा रहने भ्यु प्वाइन्टबाट बाहिर हेर्दा निकै आकर्षक र मनोरम दृश्य देख्न सकिने बन्दीपुरेको अनुमान छ। भ्यु प्वाइन्ट निकै रोमाञ्चक, ऐतिहासिक र नयाँ भएपछि पर्यटकको आकर्षण बढ्ने गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले बताउनुभयो । उहाँका अनुसार पर्यटकीय प्रवद्र्धनका साथै रोजगारको अवसर सिर्जना गर्न भ्यु प्वाइन्टको अवधारणा ल्याइएको हो ।
‘भ्यु प्वाइन्टमा टेलिस्कोप, फोटो ग्राफर, कल्चरल सेन्टर, रेष्टुरेण्ट, जातजातिका पोशाकको विक्री कक्ष रहनेछ,’ अध्यक्ष थापाले भन्नुभयो । ५० जना प्रत्यक्ष रोजगार भ्यू प्वाइन्ट निर्माणपश्चात् ५० जना स्थानीय प्रत्यक्ष रोजगार हुनेछन्। ५० जनाले प्रत्यक्ष रोजगारी पाउने र वार्षिक ३ करोड रुपैयाँ बराबरको आम्दानी गर्ने बन्दीपुर गाउँपालिकाको लक्ष्य छ। रातदिन सञ्चालन गर्नका लागि कर्मचारीको व्यवस्थापन र रातभर पनि त्यहाँ सञ्चालित होटल, रेष्टुरेण्ट, फोटो ग्राफरसमेत भइरहने गाउँपालिका अध्यक्ष पूर्ण्सिंह थापाले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्