बैंकको जागिर छोडेर टर्की पालनमा होमिएका भरतराज

स्याङ्जा । नेपाली समाजमा बैंकका जागिरेलाई हेर्ने दृष्टि नै अर्कै हुन्छ । हेर्दा तिखो धार भएको पाईन्ट, कोट, टाई र टलक्क परेको जुत्ता । उनीहरुको व्यथा अर्कै होला तर झट्ट हेर्दा बैंकरहरु निकै भद्र भलाद्मी हुन्छन् भन्ने उनीहरुको पोसाकले झल्काउँछ । तर यहाँका एक युवा भने यस्तै सुटेट बुटेटको जागिर छाडेर टर्की र कुखुराको खोरमा रमाउनुभएको छ ।
गल्याङ नगरपालिका–३, बल्पुकका भरतराज बस्याल टर्की र स्थानीय जातका कुखुरा पालनमा व्यस्त हुुनुहुन्छ । बस्याल भन्नुहुन्छ, ‘टाई कोट र टिलिक्क जुत्तामा हिड्दा के थाहा देख्नेलाई खल्ती रित्तै छ भनेर ।’ जागिरको सिमित परिश्रामिकले बस्याललाई पुगेन । उहाँले डेढ वर्ष अघि बस्याल पोल्ट्री फर्म दर्ता गरेर चार हजार बोईलर कुखुराबाट व्यवसाय सुरु गर्नुभएको थियो ।
२७ वर्षीय बस्याललाई जागिर बन्धक जस्तै लाग्ने सिमित पारिश्रामिक, त्यही कारण उहाँ कृषि तथा पशुमा पनि नयाँ गर्ने सोचका साथ स्थानीय कुखुरा र टर्कीमा उहाँको मन गयो । आठ रोपनी क्षेत्रफलमा फैलिएको फर्ममा उहाँले २२ लाख रुपैयाँ लगानी गर्नुभएको छ । बस्यालको फर्ममा करिब पाँच सय वटा टर्की र तीन हजार स्थानीय जातका कुखुरा छन् । बजारीकरणका लागि कुनै समस्या नभएको भन्दै बस्यालले भन्नुभयो, ‘कुखुरा त सबैले खान्छन् तर टर्की भने मासुका लागि केही नयाँ भएकाले टर्कीको मासु तथा अण्डाको प्रचारप्रसार गर्नुपर्ने देखेको छु ।’ पछिल्लो समय उहाँको व्यवसायबाट वार्षिक कारोबार बढेको भन्दै बार्षिक ५० लाख कारोवार हुने गरेको बताउनुभयो । टर्की प्रति केजी सात सय रुपयाँ र कुखुरा छ सय ५० रुपैयाँमा बिक्री हुने गरेको बस्यालले बताउनुभयो ।
उहाँले उत्पादन गरेको टर्की स्याङ्जाको वालिङ, वुटवल र कुखुरा स्यानीय बजार गल्याङमा खपत हुने गरेको छ । आँफू एक्लैले फर्म धान्नुभएको बस्याल भन्नुहुन्छ, ‘शुरुमा केही कामदार राखेको थिएँ तर अहिले त अटोमेटिक कुखुरा तथा टर्कीलाई पानी दिने मेसिन छ, अरु आँफै गर्छु ।’ यो व्यवसायमा जोखिम धेरै हुने तर मेहेनत गर्न सके आम्दानी पनि राम्रो हुने उहाँको अनुभव छ ।

सरसफाईमा ध्यान दिन सके टर्की र कुखुरालाई कुनै रोगले नसताउने बस्यालको तर्क छ । टर्कीका लागि ५० प्रतिशत घाँस दिन सके राम्रो हुने बस्याल बताउनुहुन्छ । फर्मभित्रै तीन रोपनी र छर्तीमा चार रोपनी गरी सात रोपनीमा उहाँको घाँस खेती छ । टर्की तथा कुखुराका चल्लाका लागि आँफ्नै फर्ममा उत्पादन भएका अण्डालाई पाल्पाको दोभानमा रहेको ह्याचरीमा लगेर चल्ला उत्पादन भईरहेका छन् । बार्षिक मुनाफा छ लाख हुने भन्दै बस्यालले फर्मलाई स्तरोन्नती गरेको उहाँले बताउनुभयो ।
यस्तै वल्पुक कै विष्णु बस्यालले पनि टर्की पालन गर्नुभएको छ । उहाँ पाँच वर्ष कोरियामा काम गरेर फर्कनु भएको हो । कोरिया रहँदा पशुपालनको अनुभव संगालेका विष्णुले स्वदेश फर्केपछि टर्की पालन व्यवसाय गर्नुभएको हो ।
उहाँले टर्की पाल्न थालेको एक वर्षभयो । सात रोपनी भाडाको जग्गामा व्यवसाय गरेका विष्णुको फार्ममा तीन सय टर्की छन् । विष्णुका सपना कोरिया पुगेर पनि पुरा भएन । आफ्ना अपुरा सपना पुरा गर्न उहांले स्वदेशमै मेहनत गरेको बताउनुभयो ।

विदेशमा गर्ने आधा दुःख नेपाल मै गरे परिवारको साथमा राम्रो कमाई हुने विष्णुको अनुभव छ । उहाँले व्यावसायका लागि लिइने कर्जा पक्रिया झन्झटिलो भएको दुखेसो पोख्नुभयोे । असली किसानलाई लगानी गर्न सके देश कृषि क्षेत्रमा आत्मनिर्भर हुन सक्ने युवा द्धय भरतराज र विष्णुुको सुझाव छ । बास्तविक किसानकोमा सरकारका अनुदान तथा सेवा सुविधा अझै पुग्न नसकेको भन्दै किसानको वर्गीकरण गर्न आवश्यक रहेको युवाहरुको सुझाव छ ।
स्वदेशमै केही गर्छु भन्ने युवालाई प्रोत्साहन गरी नयाँलाई समेत आर्कषित गर्न सकेमा मुलुकको अर्थतन्त्रको समेत विकास हुने उनीहरुको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्