तपाईँ सुन्दै हुनुहुन्छः

‘माघ पहिलो साताभित्र चिनी मिल र उखु किसानको समस्या समाधान हुन्छ’

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी माघको पहिलो साताभित्र चिनी मिल र उखु किसानको समस्या समाधान हुने जानकारी दिनुभएकोे छ ।

राष्ट्रियसभाको आजको बैठकमा समय लिई उहाँले चिनी मिललाई किसानको बक्यौता चुक्ता गर्न निर्देशन दिइसकेको बताउनुभयो ।

उहाँले चिनी उद्योगी र उखु किसानका प्रतिनिधि बीचमा छलफल गरिएको र चिनी उद्योगले किसानलाई दिनुपर्ने भुक्तानी तत्काल गर्न निर्देशन दिइएको बैठकमा जानकारी दिनुभयो ।

उखु किसानका ११ बुँदे मागमा सरकार गम्भीर रहेको र समग्रमा उखु खरीद र बिक्रीलाई सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री भट्टले प्रष्ट पार्नुभयो ।

उहाँले लुम्बिनी र वीरगञ्ज चिनी कारखानालाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा गृहकार्य भइरहेको पनि जानकारी दिनुभएको थियो ।

मन्त्री भट्टले विदेशबाट चिनी आयात गर्दा ४० प्रतिशत भन्सार बढाएको र चिनी ल्याउन प्रतिबन्ध लगाइएको जानकारी दिनुभयो ।

बैठकमा सांसदहरु रमेशप्रसाद यादव, बलराम बाँस्कोटा, प्रकाश पन्थ, रामपृत पासवास, डा बिमला राई पौडेलले वर्षैपिच्छे उखु किसान र चिनी मिलको समस्या दोहोरिने हुँदा दीर्घकालीन समाधान खोज्न सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button