स्वास्थ्य क्षेत्रकोे बजेट अन्यत्र खर्च गर्दा खोप कार्यक्रम प्रभावित
जनकपुरधाम । प्रदेश नंं २ का सरकारले स्वास्थ्य क्षेत्रको बजेटलाई भौतिक पूर्वाधारको विकासमा खर्च गरेपछि प्रदेशको स्वास्थ्य अवस्थामा खतरा उत्पन्न भएको गुनासो स्वास्थ्यकर्मीहरुले गरेका छन् ।
नेपाल स्वास्थ्य कर्मी संघ धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा प्रदेश नंं २ को सरकारले गत वर्ष स्वास्थ्य तथा शिक्षाको ५७ करोड बजेट भौतिक विकासमा खर्च गरेका कारणले कतिपय स्वास्थ्य संस्थाहरुमा औषधी तथा खोपको अभाव सृजना भएको जनाएको छ ।
संघका प्रदेश नंं २ का संयोजक शिवजी दासले प्रदेश सरकारले स्वास्थ्यको बजेट विकासमा खर्च गर्दा अहिले खोप कार्यक्रम प्रभावित हुनुका साथै टि भी तथा एच आई भी एड्सको परीक्षण जस्ता सेवाहरु प्रभावित भएको बताउनुभयो ।
नेपाल स्वास्थ्यकर्मी संघ धनुषाका अध्यक्ष रामगुलाम कर्णले स्वास्थ्य क्षेत्रमा अहिले आएको राजनीतिक परिवर्तनले निक्कै असर पारेको बताउदै कर्मचारी समायोजनमा सरुवा भएर आएका कर्मचारीहरुलाई कतिपय पालिकाले हाजिरी नगराउँदा महिनौँदेखि बिचल्लिमा रहेको बताउनुभयो ।
संघका केन्द्रीय अध्यक्ष रामजी घिमिरेले प्रदेश तथा स्थानीय सरकारलाई स्वास्थ्य क्षेत्रको बजेट यसमै खर्च गर्नका लागि बुझाउन जरुरी रहेको र यसका लागि आफूहरुले पहल गर्ने पनि बताउनुभयो ।
संघले प्रदेशको स्वास्थ्य क्षेत्रको समस्या तथा सुधारका बारेमा पत्रकार अन्तरक्रिया मार्फत १७ बुदाको सुझावहरु अगाडि सारेको छ ।
प्रतिक्रिया राख्नुहोस्