आपासी विवादका क्रममा झगडा हुँदा खोटाङमा एक जनाको मृत्यु
खोटाङ । आपासी विवादका क्रममा झगडा हुँदा खोटाङमा एक जनाको मृत्यु भएको छ । बिहिबार राती भएको झगडाका क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठका २४ वर्षीय रमेश राईको मृत्यु भएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले तल्लोचिचिङ्गाका अशोक राई, बलराम राई र बबिन राईको समुहले टाउकोमा मुस्ली प्रहार गर्दा गम्भीर घाईते भएका राईको प्राथमिक उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताउनुभयो । मुस्ली प्रहारले टाउकोमा गम्भीर चोट लागेका राईको हलेसीकै एक क्लिनिकमा उपचारकाक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भूकम्प पुःननिर्माण अन्तरगतको घर निर्माणको काम गरेर फर्कँदै गरेका रमेश र अन्य तीन जना बीचमा बाटोमा सामान्य विषयमा भनाभन भई झगडा सुरु भएको जानकारी सुन्नमा आएको हलेसी तुवाचुङ नगरपालिकामा मेयर इवन राईले बताउनुभयो । घट्नामा संलग्न रहेका अशोक राई, बलराम राई र बबिन राई भने फरार छन् ।
घट्नाका विषयमा अनुसन्धान र फरारहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्