सताक्षीधाम धार्मिक महोत्सवको छैठौं दिनमा ७५ लाख भेटी संकलन

भद्रपुर । झापाको सताक्षीधाममा संचालन भईरहेको सताक्षीधाम धार्मिक महोत्सवको छैठौं दिन मंगलबारसम्ममा ७५ लाखभन्दा बढी नगद भेटी संकलन भएको छ ।
महोत्सव मुल आयोजक समारोह समितिका सदस्य सचिव डिल्ली नेपालका अनुसार मंगलबारसम्ममा ७५ लाख २ हजार ७ सय ३१ रुपैयाँ संकलन भएको छ । धान्याञ्चलबाट कम्तीमा ४० क्वीन्टल धान र ताण्डुलाञ्चलबाट ३५ क्वीन्टल चामल संकलन संकलन भइसकेको छ ।
कात्तिक २७ गते उद्घाटन भएको महोत्सव मंसिर ९ गतेसम्म सञ्चालन हुने सताक्षीधाम धार्मिक महोत्सव तथा १०८ कुण्डीय श्री गोपाल महायज्ञ कोटिहोममा अपेक्षाकृत भेटी संकलन भएको आयोजकले जनाएको छ । महोत्सवमा श्रीमद्देवी भागवत कथा सञ्चालन भइरहेको छ । १३ दिवसीय १०८ कुण्डीय कोटिहोम पूर्वमा अहिलेसम्मकै सबैभन्दा बृहद धार्मिक कार्यक्रम भएको बताइन्छ ।
१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको महोत्सवमा हालसम्म नेपालका ५१ जिल्लाका तीर्थयात्री सहभागी भइसकेका छन् भने भारत, भूटान, स्कटलेण्ड, सिंगापुर, अमेरिका, बंगलादेशलगायतबाट १२ हजार विदेशी तीर्थयात्री सहभागिता जनाइसकेको सचिवालयले जनाएको छ ।
३ करोड खर्च अनुमान गरिएको महोत्सवबाट ५ करोड भेटी संकलन गर्ने र बचत रकमले सताक्षीधाम क्षेत्रको पूर्वाधार विकास गरिने मूल आयोजक समितिका अध्यक्ष जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्