लुँखु–हुवास सडकखण्ड कालोपत्रेको काम शुरु

पर्वत । पर्वतको मध्येभागदेखि उत्तर दक्षिण जोड्ने लुँखु– हुवास सडकखण्ड कालोपत्र गर्न थालिएको छ । गत असारमा टेण्डर आव्हान भएको १५ किलोमिटर उक्त सडकखण्ड आजबाट कालोपत्रेको काम शुरु भएको हो ।
३६ करोड ९२ लाख ९३ हजारकोलागतमा उक्त सडक कालोपत्रे हुन लागेको हो । ग्रामिण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी)मार्फत सडक कालोपत्रे हुन थालेको महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । उक्त सडकको आज राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले शिलन्यास गर्नुभयो ।
सडक कालोपत्रेको आज शिलन्यास गर्दै राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले विकासका काममा हुँदै आएको ढिलासुस्तीको संस्कार हट्दै गएको बताउनुभएको छ । विकासका काममा बिगत वर्षहरुमा हुने गरेको ढिलासुस्ती अब हट्दै गएको तिमल्सिनाले बताउनुभयो । उहाँले सरकारले यो वर्षलाई तिव्र विकासको वर्षको रुपमा लिएको बताउँदै दुनियाँ अचम्मित हुने गरी विकासका काम अगाडि बढ्ने बताउनुभयो । गृहजिल्ला पर्वतमा सडक बिकासका काम अहिले युद्धस्तरमा सञ्चालन भइरहेकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । अबको ३ वर्षमा पर्वतका सबै सडक कालोपत्रे भइसक्ने तिमल्सिनाले दाबी गर्नुभयो ।
महाशिला र पैयूँ गाँउपालिका जोड्ने यो सडक कालोपत्रे भएपछि पैंयु गाउँपालिकाका बासिन्दा स्याङ्गजा, पोखरा भएर बर्षा याममा कुस्मा आउनुपर्ने बाध्यता हट्नेछ । कुश्मादेखि फलेवाससम्मको ६ दशमलब ७ किमी सडक कालोपत्रे भईसकेको छ भने लमायखोला देखि लुंखुसम्मको १३ किलोमिटर सडक कालोपत्रेको काम पनि अहिले रफ्तारमा चलिरहेको छ ।
अब लुंखु देउरालीदेखि हुवास सडकखण्ड पनि कालोपत्रे हुने भएपछि कुश्मादेखि सुदुर दक्षिण पर्वतको हुवासलाई कालोपत्रे सडकले जोड्ने छ । यो सँगै पर्वतमा अन्य १० वटा ग्रामीण सडकमा कालोपत्रेको काम चलिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्