तपाईँ सुन्दै हुनुहुन्छः

भोटसिपा बस दुर्घटनाका मृतक परिवारलाई घरमै पुगेर आर्थिक सहायता


मेलम्ची – इन्द्रावती गाउँपालिका–१० भोटसिपामा भएको बस दुर्घटनामा मृत्यु भएको परिवारलाई घरमै पुगेर आर्थिक सहायता प्रदान गरिएको छ । असोज २४ मा भएको दुर्घटनाका मृतक परिवारलाई किरिया खर्चकालागि इन्द्रावती गाउँपालिकाले घरमै पुगेर जनही २५ हजार उपलब्ध गराएको हो ।

गाउँपालिका अध्यक्ष बंशलाल तामाङले मृतकका परिवारमा समवेदना प्रकट गर्दै गाउँपालिकाको तर्फबाट किरिया खर्चकालागि रकम सहयोग गरिएको जानकारी दिनुभयो । उहाँले आवश्यक परे पछि पनि सहयोग गरिने जनाउदै यो सहयोग तत्कालका लागि भएको बताउनुभयो ।

मृतक परिवारलाई आर्थिक सहायता प्रदान गर्न अध्यक्ष बंशलालसँगै उपाध्यक्ष मिरा अधिकारी लामा, वडाअध्यक्ष जीवन थापामगरलगायत जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारीहरु मृतक परिवारको घरमा पुगेका थिए ।

इन्द्रावती गाउँपालिका १० भोटसिपास्थित बडहरे चोकमा भएको बस दुर्घटनामा परि ११ जनाको मृत्यु भएको थियो । इन्द्रावती गाउँपालिका ९ सिपाटारबाट काठमाण्डौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट २ सय मिटर तल खस्दा चालकसहित ११ यात्रुको मृत्यु भएको थियो ।

उक्त बस दुरघटनामा मृत्यु हुनेमा काभ्रे बनेपाका चालक केदार महाजु, काभ्रे पाँचखालकी संगीता पुर्काेटी, इन्द्रावती ९ का हिरा श्रेष्ठ, सोही स्थानका बिनोद लम्साल, इन्द्रावती १० का रितेश आचार्य रहेका छन् । उनीहरुको घटनास्थलमा नै मूत्यु भएको थियो । त्यस्तैगरी उक्त दुर्घटनामा इन्द्रावती १० माइती भई हाल ललितपुरकी संगीता श्रेष्ठको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । उपचारको क्रममा धुलिखेल अस्पतालमा इन्द्रावती ९ की ४६ वर्षिया जुनादेवी लम्साल इन्द्रावती १० का २० वर्षिय गणेश तामाङ, इन्द्रावती १० का मिना मगर, सुवास तामाङ र सुमित पुर्कोटीको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button