तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतमा डेङ्गुसम्बन्धी सचेतना अभियान सञ्चालन

सुर्खेत –  डेङ्गु सङ्क्रमण बढ्न थालेपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले यसविरुद्व अभियान सञ्चालन गरेको छ । वडा कार्यालयहरुले आज टोल–बस्तीसम्म पुगेर डेङ्गु रोगविरुद्व सचेतना फैलाउनाका साथै लामखुट्टेका लार्भासमेत नष्ट गरेका हुन् ।

बसपार्क क्षेत्रमा ‘एडिज’ जातको लामखुट्टेका लार्भा देखा परेकाले प्रदेश स्वास्थ्य निर्देशनालयले नष्ट गर्न नगरपालिकालाई निर्देशन दिएको थियो । निर्देशनालयले नगरभित्रका ग्यारेज सेन्टर, नाली र डिब्बा, कुलर, बोतल पाइने स्थानहरुमा लार्भाको खोजी गरी नष्ट गर्न जनप्रतिनिधिलाई आग्रह गरेको थियो ।

वडा नं ६ का अध्यक्ष मोती कँडेलले बसपार्क क्षेत्रमा गाडीका पुराना टायर, पानीका बोतल जथाभावी फ्याकिँदा ‘एडिज’ जातको लामखुट्टे देखिएको बताउनुभयो । उहाँले शनिबार टोल–टोलमा पुगेर जनचेतना फैलाउनाका साथै लामखुट्टेका लार्भा नष्ट गरिएको जानकारी दिनुभयो । सफा पानी जमेको ठाउँ, गाडीका टायर, डिब्बा, बोतलभित्र एडिज नामको लामखुट्टे बस्ने गर्दछ ।

सुर्खेतमा हालसम्म डेङ्गुका छ बिरामी फेला परेका छन् । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले डेङ्गु सङ्क्रमित तीन जना उपचारपश्चात् घर फर्केका तथा बाँकी तीन उपचारकै क्रममा रहेको जनाएको छ । विसं २०७४ मा वीरेन्द्रनगर, दशरथपुर, अवलचिङ, गुमी र कल्याणमा गरी २१ बिरामी फेला परेका थिए । पाँच वर्षअघि डेंगुबाट सुर्खेतमा एकजनाको मृत्यु भएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button