पुलिस क्लब फाइनलमा प्रवेश
परेश सापकोटा । नेपाल पुलिस क्लब पूर्व विजेता नेपाल ए पि एफ क्लबलाई हराउँदै जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहिबार भएको दोस्रो सेमिफाईनलमा नेपाल पुलिस क्लबले नेपाल ए पि एफ क्लबलाई ५ विकेटले पराजित गर्दै फाईनलको यात्रा तय गरेको थियो ।
पहिलो ब्याटिङ्ग गरेको नेपाल ए पि एफ ले २१.१ ओभरमा मात्र ४१ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो । ए पि एफ का कुनै पनि ब्याट्स् म्यानले दोहोरो रन बनाउन सकेनन् ।
नेपाल पुलिस क्लबका ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए भने सागर ढकाल र कुषल भुर्तेलले समान ३ विकेट लिएका थिए ।
सामान्य ४२ रनको लक्ष्य प्राप्त गर्न पनि नेपाल पुलिस क्लबलाई धाउ धाउ परेको थियो ।
नेपाल पुलिस क्लबे ९.३ ओभरमा ५ विकेटको क्षतिमा विजयी लक्ष्य प्राप्त गरेको थियो ।
छैठौँ नम्बरमा ब्याटिङ्ग गर्न आएका पवन सराफले अविजित रहेर २१ रनको योगदान गर्दै नेपाल पुलिस क्लबको जित सुनिश्चित गरेका थिए ।
नेपाल पुलिस क्लबका लागि ४ विकेट लिने ललित राजवंशी यस खेलको प्लेएर अफ दि म्याच घोषित भए ।
नेपाल पुलिस क्लबले अब त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार हुने फाईनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।
प्रतिक्रिया राख्नुहोस्