के पि एल टि २० क्रिकेटको उपाधि आर्मी क्लबलाई
सुर्खेत । त्रिभुवन आर्मी क्लबले कर्णाली प्रिमियर लिग के पि एल टि २० क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।
सुर्खेतको कालिन्चोक क्रिकेट मैदानमा शनिबार सम्पन्न फाईनल खेलमा न्यू हराईजन बुटवललाई ५९ रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले उपाधि हात पारेको हाम्रा सुर्खेत समाचारदाता आकाश तारा वयकले जनाएका छन् ।
पहिलो ब्याटिङ्ग गरेको त्रिभुवन आर्मी क्लबले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४६ रन बनाएको थियो ।
प्रतिउत्तरमा न्यू हराईजन बुटवलले १८.३ ओभरमा ८७ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो ।
त्रिभुवन आर्मीका लागि ५६ रनको योगदान गर्दै अर्ध शतक पुरा गर्ने हरी बहादुर फाईनलको प्लेएर अफ दि म्याच घोषित भए ।
त्रिभुवन आर्मी क्लबले उपाधि सहित ५ लाख र दोस्रो भएको न्यू हराईजन बुटवलले २ लाख रुपैँया पुरस्कार प्राप्त गरे ।
कर्णाली ११ का रविन्द्र जङ शाही उत्कृष्ट ब्याट्स् म्यान र त्रिभुवन आर्मी क्लबका शुसन भारी उत्कृष्ट बलर घोषित भए । दुवैले समान २० हजार रुपैँया पुरस्कार प्राप्त गरे ।
यसैगरी, प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका न्यू हराईजन बुटवलका क्याप्टेन शक्ति गौचनले ५० हजार रुपैँया पुरस्कार प्राप्त गरे ।
प्रतिक्रिया राख्नुहोस्