तपाईँ सुन्दै हुनुहुन्छः

ढोरपाटन पहिरो : मृतकको संख्या १४ पुग्यो, दुई दर्जन बढी अझै बेपत्ता

बागलुङ ।बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ९ को भुजिखोलाको शिर देउरालीमा गएको पहिरो र बाढीमा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ ।

बाढी र पहिरोमा परी अझ पनि कम्तीमा २४ जना हराइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभएको छ ।

 

मृतक १४ मध्ये हालसम्म ४ जनाको मात्रै सनाखत भएको छ। सनाखत हुनेमा ढोरपाटन नगरपालिका वडा नं. ९ लाकुरीबोटका ४५ वर्षीय कर बहादुर विक, सोही स्थानकी २६ वर्षीय केशमाया विक, वर्ष २२ का जीवन विक र वर्ष ११ का डल्ले विक रहेका छन् । सनाखत नभएका १० जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा रहेको छ ।

उद्धार गरिएका ४ जना घाइते मध्ये २ जनाको उपचार पनि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङमा भइरहेको छ भने २ जनाको अवस्था सामान्य भएकोले घरमै स्वास्थ्यकर्मीको टोलीले उपचार गरेको छ ।

 

बाढीले लाकुरीबोटमा १५ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर, भुसुन्डेमा २ घरसहित ३१ घर पूर्ण रूपमा क्षति गरेको छ ।

बाढीले सुकुरदुङको सरस्वती आधारभूत विद्यालय को २ कोठे भवन, सुप्राङको जनचेतना प्राविको ४ कोठे भवन, साबिक बोवाङमा रहेको ३ वटा लघु जलविद्युत योजना, एउटा झोलुङ्गे पुल पनि बगाएको छ । ६ ओटा लघु जलविद्युत आयोजनाको नहरमा क्षति गरेकोले विद्युत् पूर्ण अवरुद्ध भएको छ । त्यस्तै बाढीले एक जिप, २ वटा ट्याक्टर लगायत गाईबस्तु बगाएको छ । यस वर्ष वर्षा सुरु भए पछि यो घटना भन्दा पहिला बागलुङमा ८ जनाको मृत्यु भैसकेको छ।

काठमाडौँबाट आज गृहमन्त्री राम बहादुर थापा, सांसद देवेन्द्र पौडेल सहितको टोली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोली घटनास्थलमा राहत सामाग्री सहित पुग्ने तयारी रहेको र आज राहत वितरण पनि गरिने प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभएको छ। गृहमन्त्री सहितको टोली हिजो मौसम प्रतिकुलताको कारण पोखराबाटै फर्किएको थियो। हिजो साँझवाट रोकिएको उद्धार कार्य अहिले बिहानैबाट सुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button