तपाईँ सुन्दै हुनुहुन्छः

किसानमैत्री नीति बिना आत्मनिर्भर अर्थतन्त्र असम्भव: संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले किसानमैत्री नीति र कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा विशेष गम्भीरता देखाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्नुहुँदै संयोजक प्रचण्डले कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको उल्लेख गर्नुभएको छ। उहाँले देशको खाद्य सुरक्षा र समृद्धिको आधार हाम्रा श्रमजीवी किसानहरूको अथक मेहनत, पसिना र समर्पणबाट नै सम्भव भएको स्पष्ट पार्नुभयो।

‘कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड हो। हाम्रा श्रमजीवी किसानहरूको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा र समृद्धिको आधार निर्माण सम्भव छ,’ सन्देशमा भनिएको छ।

 संयोजक प्रचण्डले रोपाइँको यो मुख्य समयमा पनि किसानहरूले भोग्नुपरेका आधारभूत समस्याहरू प्रति सरकार गम्भीर नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। किसानहरूले समयमै सहज रूपमा रासायनिक मल, उन्नत बीउबिजन, सिँचाइ र आवश्यक कृषि सामग्री पाउन नसकेको तर्फ उहाँले सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो।

 यो विशेष दिवसले कृषि र किसानप्रतिको सम्मान एवं उत्पादन वृद्धिको नयाँ सङ्कल्प जगाउने विश्वास व्यक्त गर्दै संयोजक प्रचण्डले सम्पूर्ण नेपालीहरूमा सुख, समृद्धि र सफल खेतीपातीको हार्दिक शुभकामना समेत व्यक्त गर्नुभएको छ।

यस वर्ष मुलुकभर ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३  मनाइँदै छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button