तपाईँ सुन्दै हुनुहुन्छः

विवाह पञ्चमीको निम्तो बोकेर जनकपुरधामबाट अयोध्या प्रस्थान गर्‍यो टोली

जनकपुरधाम । त्रेतायुगीन राम–सीता विवाहको पौराणिक परम्परालाई पुनः जीवन्त बनाउँदै जनकपुरधाममा मनाइने विवाह पञ्चमी महोत्सवको निम्तो दिन यहाँबाट आज एक टोली भगवान् श्रीरामको जन्मभूमि अयोध्या प्रस्थान गरेको छ ।

जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दू परिषद् तथा नागरिक समाजका प्रतिनिधि सम्मिलित टोली अयोध्या–जनकपुरधाम सञ्चालन भएको सरयू–कमला एक्सप्रेस रेलमार्फत अयोध्या गएको हो ।

टोलीले अयोध्या पुगेर विवाह पञ्चमी महोत्सवमा सहभागी हुन भगवान् श्रीरामको जन्मभूमिका बासिन्दा तथा धार्मिक अगुवालाई औपचारिक निमन्त्रणा दिने कार्यक्रम रहेको विश्व हिन्दू परिषद् धनुषाका अध्यक्ष सन्तोष साहले जानकारी दिनुभयो । निमन्त्रणासँगै विवाह पञ्चमीमा जनकपुरधाममा हुने धार्मिक तथा सांस्कृतिक कार्यक्रमबारे जानकारी गराइने उहाँले बताउनुभयो ।

जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहले विवाह पञ्चमी महोत्सवले जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने बताउनुभयो । 

उहाँले राम–सीताको वैवाहिक सम्बन्धसँग जोडिएका यी दुई पवित्रस्थलबीचको ऐतिहासिक सम्बन्धलाई निरन्तरता दिन निमन्त्रणा टोली अयोध्या प्रस्थान गरेको जानकारी दिनुभयो । त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको विवाहका लागि अयोध्याका राजा दशरथलाई निमन्त्रणा पठाएको पौराणिक मान्यतासँग जोडिएको परम्परालाई पुनः जीवन्त बनाउने उद्देश्यले टोली अयोध्या गएको उहाँको भनाइ छ ।

टोलीले विवाह पञ्चमी महोत्सवको निमन्त्रणासँगै फलफूल, गरगहना, भाँडाकुँडालगायतका सामग्री समावेश गरिएको भारसमेत लिएर गएको छ । मिथिलाको वैवाहिक संस्कारमा बेहुला पक्षलाई सम्मानपूर्वक भार तथा उपहार पठाउने परम्परा रहिआएको छ । 

जनकपुरधाममा प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीका दिन राम–सीताको विवाहको स्मरणमा सप्ताहव्यापी रूपमा विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ । महोत्सवका क्रममा राम–सीताको स्वयंवर, तिलकोत्सव, मटकोर, शुभ विवाह, रामकलेवा लगायतका धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै आएका छन् ।

विवाह पञ्चमी महोत्सवमा नेपाल तथा भारतका हजारौँ श्रद्धालु सहभागी हुने गरेका छन् । विशेषगरी अयोध्याबाट जन्ती आउने र जनकपुरधाममा मिथिलाको परम्पराअनुसार स्वागत तथा विवाह उत्सव मनाउने चलनले यस महोत्सवलाई विशिष्ट धार्मिक तथा सांस्कृतिक महत्व प्रदान गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button