तपाईँ सुन्दै हुनुहुन्छः

१२औँ धारा नेपालगन्ज म्याराथनको उपाधि पहिलो पटक विदेशी खेलाडीलाई

नेपालगन्ज । १२औँ धारा नेपालगन्ज म्याराथनको उपाधि पहिलोपटक विदेशी खेलाडीले जितेका छन् । शनिबार भएको म्याराथनमा केन्याका जुलियस मुरिउकीले २ः२०ः२५ घण्टामा निर्धारित दुरी पूरा गर्दै पहिलो भए । उनले नगद दुई लाख, ट्रफी र पदक प्राप्त गरेका छन् । म्याराथनमा कुलबहादुर बस्नेत दोस्रो र कृष्णबहादुर तेस्रो भए । कुलबहादुरले नगद एक लाख र कृष्णबहादुरले पचास हजार प्राप्त गरे । उनीहरूले क्रमशः २ः२३ः०१ घण्टा तथा २ः२४ः२९ घण्टाको समय निकालेका थिए ।

त्यस्तै करन रावल (२ः२७ः२३), भुपेन्द्र चालिसे (२ः२७ः५२), कर्णबहादुर रोका मगर (२ः२८ः०६), एल्काना किमेली (२ः२९ः४१), राजन चौधरी (२ः३०ः५२), कमलराज तिमल्सिना (२ः४१ः४८) र निरज भट्ट (२ः५३ः५८) सहित क्रमशः शीर्ष दश स्थानमा आए । शीर्ष दश स्थानभित्र आउनेले क्रमशः २५ हजार, १५ हजार, १० हजार, ८ हजार, ७ हजार र पाँच पाँच हजार प्राप्त गरे ।

महिला हाफ म्याराथनमा जुम्लाकी राज्यलक्ष्मी रावतले १ः२७ः३४ घण्टाको समय निकाल्दै च्याम्पियन बनिन् । यसमा सम्झना लिम्बुले १ः२८ः२८ घण्टा तथा सरस्वती भट्टराईले १ः३०ः३५ घण्टा र अगा लिम्बुले २ः५९ः१० घण्टाको समय निकाल्दै पाँचौँ स्थान हासिल गरे । हाफ म्याराथनका शीर्ष खेलाडीले क्रमशः ७५ हजार, ५० हजार, २५ हजार र दश हजार नगद पुरस्कार प्राप्त गरे ।

दश किलोमिटर खुला पुरुषतर्फ गणेश रावत, बलबहादुर राई र बुद्धिराम भुसाल क्रमशः पहिलो दोस्रो र तेस्रो भए । शीर्ष तीन खेलाडीले २५ हजार, १५ हजार र दश हजार नगद प्राप्त गरे । पाँच किलोमिटर खुला पुरुषतर्फ दामोदर बस्नेत, रितेश घर्ती मगर र प्रकाश यादव तथा महिला खुलातर्फ स्वस्तिका शाही, सरिता राना र अप्सरा बम ठकुरीले क्रमशः शीर्ष तीन स्थान हासिल गरे । शीर्ष तीनले दश हजार, पाँच हजार र दुई हजार नगदबाट पुरस्कृत भए । ह्वीलचेयर रनतर्फ यज्ञबहादुर खत्री, मनकुमारी परियार, देवकुमारी थारु, श्यामकली थारु र थमन थारुले शीर्ष पाँच स्थान हासिल गरे । उनीहरुलाई पाँच हजार, तीन हजार, दुई हजार र एक एक हजार प्रदान गरियो ।

कर्पोरेट रनतर्फ इन्जिनियर प्रवीण बस्नेत, डा. विश्वनाथ शर्मा, इन्स्योरेन्स म्यानेजर नवीन शर्मा र डा. जोसन न्यौपानेले शीर्ष चार स्थान हासिल गरे । ५ किलोमिटरतर्फको स्कुल स्तरीय दौड प्रतिस्पर्धाविहीन बनाइयो । कलिला बालबालिकामा जित हारको मनोविज्ञानबाट मुक्त गर्न सबैलाई पदक प्रदान गरिएको आयोजकले जनाएको छ ।

विजयी खेलाडीहरूलाई मिस नेपाल वर्ल्ड दीपमाला ढकाल, केएल दुगड ग्रुपका निर्देशक सौरभ दुगड, अर्का निर्देशक दिव्या दुगड, शिखर प्लाईकी निर्देशक कुसुम दुगड, केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेड, नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरी, संस्थापक सदस्य जनक नेपाल, पूर्व उपमेयर उमा थापा, लुम्बिनी प्रदेश खेलकुद परिषद्का पूर्व सदस्य सचिव भिम ओली लगायतले पुरस्कृत गरेका थिए । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले म्याराथनको उद्घाटन गरेका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ लगायत सुरक्षा अधिकारीहरू आफैँ उपस्थित भई रोड व्यवस्थापनमा सहयोग गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button