सीमा क्षेत्रको व्यापार सहजीकरण र विमानस्थल सञ्चालनमा सहयोग गर्न सभामुखसँग आग्रह
रुपन्देही । रुपन्देहीका उद्योगी तथा व्यवसायीले भारतीय सीमा क्षेत्रको व्यापार प्रवर्द्धन र पर्यटन व्यवसायमा देखिएका समस्या समाधानका लागि सहजीकरण गरिदिन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग आग्रह गरेका छन् ।

सीमावर्ती क्षेत्रमा भारतीय पर्यटकको आवागमन, मालवाहक सवारी साधनको ढुवानी तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनमा विभिन्न समस्या रहेको भन्दै व्यवसायीले त्यसको नीतिगत तथा कानुनी समाधान खोज्न सभामुखको ध्यानाकर्षण गराएका हुन् ।
पर्यटन व्यवसायी सञ्जय बजिमयले सभामुख अर्याललाई लिखित पत्र बुझाउँदै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालनका लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गर्नुभयो।
त्यस्तै प्रतिनिधिसभाका पूर्वसांसद तथा पर्यटन व्यवसायी प्रमोदकुमार यादवले भारतीय पर्यटकले नगद रकम बोकेर नेपाल भ्रमणमा आउँदा प्रहरी प्रशासनबाट पक्राउ पर्ने तथा थुनामा राखिने गरेको विषय उठाउनुभयो । यादवले भारतीय पर्यटकलाई नेपाल भ्रमणका क्रममा अनावश्यक सास्ती भोग्नुपर्ने अवस्था अन्त्य गरी पर्यटनमैत्री वातावरण निर्माण गर्न आवश्यक कानुनी पहल गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो ।
उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले मालवाहक ट्रकलाई ओभर लोडको नाममा प्रहरीले १० हजार रुपैयाँ जरिवाना गर्ने गरेको विषय उठाउँदै यसले यस क्षेत्रको व्यापार प्रभावित भएको बताउनुभयो । ढुवानी तथा व्यापारमा देखिएका यस्ता समस्याले सीमावर्ती क्षेत्रका व्यवसायीलाई कठिनाइ भएको भन्दै उहाँले प्रहरी प्रशासनबाट हुने व्यवहार र जरिवाना प्रक्रियालाई व्यवस्थित गर्न आग्रह गर्नुभयो ।
व्यवसायीका लिखित माग र समस्या सुनेपछि सभामुख अर्यालले निजी क्षेत्रको प्रवर्द्धन र संरक्षणका लागि कानुनअनुसार सरकारसँग आवश्यक सहजीकरण गर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रका समस्या समाधानका लागि आफू सधैँ सकारात्मक रहेको उल्लेख गर्दै भन्नुभयो, “कानुनअनुसार सहजीकरण गर्न म सधैँ निजी क्षेत्रको साथमा छु ।” व्यवसायीले उठाएका समस्याको समाधानका लागि संसदीय समितिमा लिखित उजुरी दिन पनि सभामुख अर्यालले सुझाव दिन आग्रह गर्नुभयो ।
सोट्टो नेपाल लुम्बिनीको समन्वयमा आयोजित सीमावर्ती क्षेत्रका व्यवसायीसँगको भेटघाट तथा छलफल कार्यक्रममा व्यवसायीले सीमा क्षेत्रमा व्यापार प्रवर्द्धनका लागि राज्यका निकायबाट आवश्यक सहजीकरण हुन नसकेको गुनासो गरेका थिए ।








प्रतिक्रिया राख्नुहोस्