तपाईँ सुन्दै हुनुहुन्छः

विश्वकप छनोट प्लेअफका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले टोली घोषणा गरेको छ । 

नेपाल क्रिकेट सङ्घ(क्यान)ले आज कप्तान सन्दीप लामिछानेको कप्तानीमा प्रतियोगिताका लागि १५ सदस्यीय टोली घोषणा गरेको हो ।  

घोषित टोलीमा सन्दीपसहित आसिफ शेख, कुशल भुर्तेल, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, राशिद खान, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिशेष गौतमले अवसर पाएका छन् ।

आइसिसी विश्वकप क्वालिफायर प्लेअफ यही मङ्सिर १८ देखि पुष ६ गतेसम्म नेपालमा आयोजना हुँदैछ । प्रतियोगितामा आठ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालले मङ्सिर १८ गते इटालीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

यस्तै, नेपालले मङ्सिर २० गते युगाण्डा, मङ्सिर २४ गते युनाइटेड अरब इमिरेट्स (युएई), मङ्सिर २६ गते जर्सी, मङ्सिर  २८ क्यानडा, पुस ३ गते नामिबिया र पुस ६ गते कुवेतविरुद्ध खेल्ने तालिका छ ।  

नेपालले खेल्ने सातवटै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल्नेछ । प्रतियोगितामा सहभागी आठ टोलीले एक अर्कासँग एक एक खेल खेल्नेछन् । अङ्क तालिकाको शीर्ष चारमा रहने टोलीले अर्को चरणमा स्थान बनाउने छन् । बाँकी चार टोलीको यात्रा समाप्त हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button