लक्सनको बहुमत गुम्यो, मध्यमार्गी पार्टी निर्णायक

वेलिङ्टन । न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले निर्वाचनको अन्तिम नतिजामा संसदीय बहुमत गुमाएपछि सरकार टिकाउन मध्यमार्गी पार्टी अपर्चुनिटीको समर्थन जुटाउनुपर्ने भएको छ । शुक्रबार सार्वजनिक नतिजाअनुसार उहाँ नेतृत्वको दक्षिणपन्थी गठबन्धन बहुमतभन्दा एक सिट कममा सीमित भएको छ ।
नोभेम्बर ७ को प्रारम्भिक मतपरिणामले गठबन्धनलाई बहुमत दिएको देखिए पनि अन्तिम नतिजामा नेसनल पार्टीले दुई सिट गुमाएपछि राजनीतिक समीकरण बदलिएको हो । लक्सनले नयाँ सरकार गठनका लागि हुने वार्ता चुनौतीपूर्ण र समय लाग्ने खालको हुन सक्ने बताउनुभएको छ । सहमतिमा पुग्न नसके देशमा पुनः निर्वाचनको सम्भावना पनि छ ।
सरकार गठनमा निर्णायक बनेको क्युला वोङ नेतृत्वको अपर्चुनिटीले सबैभन्दा धेरै सिट प्राप्त गर्ने दलसँग सहकार्य गर्ने जनाएको छ । तर जलवायु परिवर्तन, जीवनयापन खर्च र राजनीतिक शुद्धतासम्बन्धी आफ्ना आधारभूत अडानमा सम्झौता नगर्ने वोङले स्पष्ट पार्नुभएको छ । उहाँले अर्को निर्वाचनको सम्भावनालाई पनि अस्वीकार गर्नुभएको छैन ।
३८ वर्षीया वोङले व्यावहारिक र सहकार्यमा आधारित राजनीतिमार्फत बढ्दो राजनीतिक ध्रुवीकरण कम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । गत वर्ष अगस्टमा करिब एक प्रतिशत मतबाट पार्टी नेतृत्व सम्हाल्नुभएकी उहाँको पार्टी अहिले सरकार गठनमा निर्णायक शक्तिका रूपमा उदाएको छ । लक्सन र विपक्षी लेबर पार्टीका नेता क्रिस हिप्किन्स दुवैले उहाँसँग छलफल गरिसक्नुभएको छ ।
लक्सनले न्युजिल्यान्डवासीलाई स्थिर र पूर्ण कार्यकाल चलाउन सक्ने सरकार आवश्यक रहेको बताउनुभएको छ । सन् २०२३ को निर्वाचनपछि उहाँलाई न्युजिल्यान्ड फर्स्ट र एसीटी पार्टीसँग गठबन्धन सरकार बनाउन छ हप्ताभन्दा बढी लागेको थियो । यसपटक पनि नयाँ सरकारको स्वरूप निर्धारण हुन केही हप्ता वा महिना लाग्न सक्ने देखिएको छ ।
राष्ट्रिय प्रसारणकर्ता आरएनजेडका अनुसार न्युजिल्यान्ड फर्स्टले शुक्रबार समर्थकलाई पठाएको सन्देशमा निर्वाचनको नतिजाले मुलुकलाई आवश्यक निश्चितता दिन नसकेको जनाएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्