विद्युत् महसुलमा लाग्ने भ्याटलाई सहज बनाउने तयारीमा छौँ: ऊर्जामन्त्री श्रेष्ठ

कास्की । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर ९भ्याट०लाई उपभोक्ताका लागि सहज बनाउने तयारी भइरहेको बताउनुभएको छ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० कास्कीले आज साँझ पोखरामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रियामा उहाँले चालु आर्थिक वर्षको बजेटमार्फत कार्यान्वयनमा ल्याइएको विद्युत् महसुलको भ्याट व्यवस्थालाई सहजीकरण गर्न सरकार सकारात्मक रहेको बताउनुभयो ।
विद्युत् महसुलमा भ्याट लगाउने व्यवस्थाले उपभोक्तामा आर्थिक भार थपिएको विषयमा सरकार जानकार रहेको उल्लेख गर्दै उहाँले आर्थिक ऐन संशोधनको प्रस्ताव आउने समयमा यसलाई सहज बनाउने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।
“मन्त्रालयको कोसिस भ्याट सहज बनाउनेबाहेक अन्य सहुलियत के–के दिन सकिन्छ भनेर पनि लागिरहेका छौँ । यसबाहेक अतिरिक्त शुल्कलाई कसरी हेर्न सकिन्छ भन्ने हाम्रो कोसिस जारी छ”, मन्त्री श्रेष्ठले भन्नुभयो ।
सरकारले चालु आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी खपत गर्ने ग्राहकलाई पाँच प्रतिशत भ्याट लाग्दै आएको छ । मन्त्री श्रेष्ठले एउटै नदीमा विद्युत् उत्पादनका लागि विगतमा धेरै आयोजनालाई जथाभाबी अनुमति दिइएको पाइएको भन्दै त्यसलाई व्यवस्थित र नियमन गर्न मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

एउटै नदीमा धेरै आयोजना सञ्चालनका लागि अनुमति दिँदा नदीको प्राकृतिक बहाव प्रभावित भएको उल्लेख गर्दै उहाँले कतिपय स्थानमा मृत्यु संस्कारका लागि जाँदासमेत खोलामा पानी नहुने अवस्था रहेको बताउनुभयो । नदीलाई स्वतन्त्र रूपमा बग्न दिनुपर्नेमा उहाँको जोड थियो ।
“विद्युतको अभावले हो कि किन हो, जथाभाबी लाइसेन्स दिएको पाएका छौँ । पहिला लाइसेन्स दिएको कारण कानुनी जटिलता छ । अहिले हामीले त्यसलाई नियमन गर्न खोजेका छौँ”, उहाँले भन्नुभयो ।
मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नयाँ योजना ल्याउनुभन्दा पनि विगतका निर्णय र व्यवस्थालाई सुधार गर्नुपर्ने अवस्था बढी चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो । अहिले भने मन्त्रालयका काम क्रमशः सही दिशामा अघि बढ्न थालेको उहाँको भनाइ थियो ।
स्थानीयवासी र जलविद्युत् प्रवद्र्धकबीच देखिने विवाद समाधान तथा उजुरीको सुनुवाइ गर्ने अधिकार विद्युत् नियमन आयोगमा रहेको उल्लेख गर्दै उहाँले केही विवाद समाधानको प्रक्रियामा अघि बढेको जानकारी दिनुभयो ।
“व्यक्तिले शासन गर्ने राज्य होइन, विधिले शासन गर्ने राज्य बनाउँदैछौँ । अहिले केही विवाद सुल्झिएको छ । प्रवर्द्धकको दायित्व सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय सरकारसँग मिलेर पूरा गर्नुपर्ने र कम्युनिटी सपोर्ट कार्यक्रम गर्नुपर्नेछ”, उहाँले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्