धार्मिक तथा पर्यटकीय क्षेत्र रौता पोखरी पुग्ने सडक निर्माणले गति लिँदै

उदयपुर । उदयपुरको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य रौता पोखरी पुग्ने सडक निर्माणले गति लिने भएको छ ।
रौता पोखरीलाई सडक सञ्जालमार्फत सहज रूपमा जोड्ने लक्ष्यसहित निर्माण भइरहेको रानीबास–रौता पोखरी–रसुवाघाट सडकको दोस्रो प्याकेजका लागि कोशी प्रदेश सरकारले १० करोड रुपैयाँको बहुवर्षीय स्रोत सहमति प्रदान गरेको छ ।
त्रियुगा नगरपालिका–१५ डहरदेखि रौतामाई गाउँपालिका हुँदै रौता पोखरी जोड्ने उक्त सडकको बाँकी खण्ड निर्माणका लागि आर्थिक वर्ष २०८३÷०८४ मा खर्च गर्ने गरी स्रोत सहमति प्राप्त भएको हो ।
रौता पोखरीसम्मको सडकलाई पूर्णता दिने उद्देश्यले कोशी प्रदेशसभा उपसभामुख सृजना दनुवारले प्रदेश सरकारसमक्ष निरन्तर पहल गर्दै आउनुभएको थियो। उपसभामुख दनुवारको पहल र पूर्वाधार विकास कार्यालय उदयपुरको प्राविधिक प्रक्रियापछि दोस्रो प्याकेजका लागि १० करोड रुपैयाँको बहुवर्षीय स्रोत सहमति प्राप्त भएको कार्यालय प्रमुख गंगासागर यादवले जानकारी दिनुभयो।
यसअघि उक्त सडक निर्माणका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷०८१ मा १ करोड ५० लाख र २०८१÷०८२ मा ३ करोड रुपैयाँ विनियोजन गरेको थियो। उक्त बजेटबाट आवागमनमा अत्यन्त कठिनाइ रहेका स्थानमा सडक ढलान तथा नाली निर्माणको काम गरिएको थियो।
सडक निर्माणको पहिलो प्याकेजअन्तर्गत रानीबास–डहर–रौतामाई खण्डका लागि १५ करोड रुपैयाँको बहुवर्षीय स्रोत सहमति प्राप्त भएपछि ठेक्का प्रक्रिया अघि बढाइएको थियो। उक्त प्याकेजको निर्माणको जिम्मा अधिकारी डिएमबी एमआर जेभी सिन्धुलीले ८ करोड १७ लाख रुपैयाँमा पाएको छ ।

निर्माण कम्पनीसँग २०८२ पुस १७ गते सम्झौता भएको उक्त योजनाअन्तर्गत २०८४ पुस १६ गतेभित्र नालीसहित ३ हजार ४ सय मिटर सडक कालोपत्रे सम्पन्न गर्नुपर्नेछ ।
पहिलो प्याकेजको काम अघि बढेसँगै बाँकी करिब ४ किलोमिटर सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालय उदयपुरले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी मन्त्रालयमा पेस गरेको थियो । सोही प्रतिवेदनका आधारमा दोस्रो प्याकेजका लागि १० करोड रुपैयाँको स्रोत सहमति प्राप्त भएको उपसभामुख दनुवारले बताउनुभयो ।
दोस्रो प्याकेजको निर्माण प्रक्रिया अघि बढाउने तयारी स्वरूप शुक्रबार उपसभामुख दनुवारसहित पूर्वाधार विकास कार्यालयका प्रमुख, इन्जिनियर तथा प्राविधिक टोली, त्रियुगा नगरपालिका–१५ का वडाध्यक्ष र रौतामाई गाउँपालिका–६ का वडाध्यक्षले सडकको स्थलगत निरीक्षणसमेत गर्नुभएको छ ।
पूर्वाधार विकास कार्यालयका अनुसार दोस्रो प्याकेजको निर्माणका लागि मंसिर महिनाको अन्तिम सातातिर ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ ।
सडक निर्माण सम्पन्न भएपछि जिल्ला सदरमुकाम गाईघाटबाट रौता पोखरीसम्मको यात्रा सहज हुने अपेक्षा गरिएको छ । धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्यका कारण परिचित रौता पोखरीसम्मको पहुँच विस्तार हुँदा पर्यटकको आवागमन बढ्ने, स्थानीय उत्पादनको बजारीकरणमा सहजता आउने र समग्र क्षेत्रको आर्थिक गतिविधि चलायमान हुने विश्वास गरिएको छ ।
वर्षौंदेखि कठिन सडक यात्राको सामना गर्दै आएका स्थानीयवासीका लागि समेत यो आयोजना महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ। दोस्रो प्याकेजको ठेक्का प्रक्रिया अघि बढेसँगै रौता पोखरीसम्म सहज सडक पहुँच विस्तार हुने अपेक्षा थप बलियो बनेको छ ।








प्रतिक्रिया राख्नुहोस्