जलवायु परिवर्तनको प्रभाव: दोलखाको चौँरी गाईमा बाँझोपन बढ्यो

दोलखा । जलवायु परिवर्तनका कारण दोलखाका खर्कहरूमा पोषिलो घाँस घट्दै गएपछि चौँरी गाईमा बाँझोपनको समस्या देखिएको छ । प्रारम्भिक अध्ययनले पोषिलो घाँस घट्दै गएकोले चौँरीमा बाँझोपनको समस्या देखिएको पशु विकास कार्यालय दोलखाका निर्देशक डा. टेकराज पौडेल बताउँछन् ।
दोलखा जिल्लामा तीन हजार भन्दा बढी चौँरी गाई र दुई सय बढी याक– नाक रहेको तथ्याङ्क पालिकाहरू बाट प्राप्त भएको पशु विकास कार्यालय दोलखाका पशु विकास अधिकृत डा. मदन भण्डारीले बताए । चौँरी किसानहरुले मुख्य रुपमा चौँरी गाईको बिक्री वितरणको अलवा घिउ, दूध, छुर्पी, चिज आदी उत्पादन गरेर आम्दानी गर्दै आएका छन् ।
पछिल्लो समय चौँरी गाईमा बाँझोपन देखिएपछि दोलखाका चौँरी पालक किसानहरु चिन्तित देखिएका छन् । दोलखाको विगु गाउँपालिकामा पर्ने चिलंखाका स्थानीय चौँरीपालक जनक बहादुर जिसी चौँरी गाईमा बाँझोपन देखिएर दूध उत्पादन घट्दै गएपछि चिन्ता थपिएको बताउँछन् । सबै कुरा छोडेर चौँरी पालन व्यवसायमा लागियो, जनक भन्छन्– अहिले चौँरी गाईमा बाँझोपन देखिएर दूध उत्पादन घट्दै गएपछि ठुलै आर्थिक नोक्सानी भएको छ ।
स्थानीय ङेमा शेर्पासंग १६ वटा चौँरी किनेर गोठ बनाएका जनक चौँरीमा देखिएको बाँझोपनले आम्दानी घट्दै गएपछि परिवार पाल्नै समस्या भएको बताउँछन् । जनकका दुई छोराले पनि छुट्टै चौँरी गोठ बनाएका छन् ।

चौँरी गाईको लागि खस्रु, गुराँस, चुत्रो, उत्तिस, हिमाली सल्ला, बासमती, लिसो, ठिगे, निगालो, एरिम, हलहले, बन्सो, छिरु जस्ता घाँसहरू उपयोगी मानिन्छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाईने यी घाँसहरू जलवायु परिवर्तनले तापक्रम र बर्षातमा हुने फेरबदलका कारण घट्दै गएपछि चौँरी गाईले प्राप्त गर्ने पोषणमा समस्या भएको र त्यसैले बाँझोपन बढ्दै गएको प्रारम्भिक अध्ययनले देखाएको पशु विकास कार्यालय दोलखाका निर्देशक डा.पौडेलको भनाई छ ।
दोलखामा रहेका चौँरी गाईहरूमा पहिलो पटक जुकाको प्रकोप समेत देखिएको पशु विकास कार्यालय दोलखाले जनाएको छ । जलवायु परिवर्तनकै कारण चौरीको चरन क्षेत्र उच्च हिमाली भेगबाट तल– तल सर्दै गएपछि गाई– भैँसी र भेडा– बाख्रासँग सँगै बस्ने अवस्था बनेको र यसले चौँरी गाईमा समेत जुकाको प्रकोप देखिएको डा. पौडेलको भनाई छ । चौँरीमा देखिएको जुकाको कारण पनि बाँझोपन बढेको हुनसक्ने डा. पौडेलको अनुमान छ ।
दोलखामा झण्डै दुई सय चौँरी गोठ रहेका छन् । दोलखाको विगु र गौरीशङ्कर गाउँपालिका तथा जिरी नगरपालिकाको ४२ वटा गोठमा गरिएको प्रारम्भिक अध्ययनमा हरेक चौँरी गोठमा दुई देखी चार वटासम्म चौँरीमा बाँझोपनको समस्या देखिएको र यो निक्कै डरलाग्दो समस्या भएको पशु विकास कार्यालय दोलखाका पशु विकास अधिकृत डा.भण्डारी बताउँछन् । चौँरी गाईमा देखिएको बाँझोपनको समस्याबारे थप अध्ययन गर्न कृषि अनुसन्धान परिषद् लगायत सम्बन्धित निकायमा अनुरोध गरिने उनको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्