तपाईँ सुन्दै हुनुहुन्छः

वडा कार्यालयबाट सञ्चालन हुँदै आएको फत्तेपुर प्रहरी चौकीले पायो आफ्नै भवन

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–७, फत्तेपुरमा सात वर्षदेखि वडा कार्यालयको भवनबाट सेवा दिँदै आएको प्रहरी चौकी फत्तेपुर (क) ले आफ्नै पक्की भवन पाएको छ । लुम्बिनी प्रदेश सरकार र राप्तीसोनारी गाउँपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको पाँच कोठे भवन गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले प्रहरी चौकीलाई हस्तान्तरण गर्नुभएको हो ।

प्रदेश सरकारको २० लाख र गाउँपालिकाको २० लाख गरी कुल ४० लाख रुपैयाँको लागतमा निर्माण भएको भवन हस्तान्तरणसँगै प्रहरीलाई कार्यालय सञ्चालन, प्रशासनिक कामकाज र नागरिकलाई सेवा प्रवाह गर्न सहज हुने अपेक्षा गरिएको छ ।

लामो समयसम्म वडा कार्यालयको भवनबाट प्रहरी सेवा सञ्चालन गर्नुपरेको अवस्थामा नयाँ भवन प्राप्त भएपछि प्रहरी कर्मचारीलाई कार्यसम्पादनमा सहजता हुने र सेवाग्राहीले समेत व्यवस्थित वातावरणमा सेवा पाउने भएका छन् ।

भवन हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष पौडेलले स्थानीय सरकार सुशासन, पारदर्शिता, विकास र जनमुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो । नागरिकको शान्ति सुरक्षा, अमनचयन र सामाजिक सद्भाव कायम गर्न अहोरात्र खटिने प्रहरीलाई आवश्यक भौतिक पूर्वाधार उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको उहाँको भनाइ थियो ।

प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा भवन निर्माण गरी प्रहरीलाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै अध्यक्ष पौडेलले प्रहरी र स्थानीय सरकारबीचको सहकार्यले शान्ति सुरक्षा व्यवस्थापन तथा नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्न सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक सुरेश कोइरालाले प्रहरी चौकीका लागि आवश्यक भौतिक संरचना निर्माण गरी हस्तान्तरण गरेकोमा प्रदेश सरकार र गाउँपालिकाप्रति आभार व्यक्त गर्नुभयो । व्यवस्थित भवनले प्रहरी कर्मचारीको कार्यसम्पादन सहज बनाउनुका साथै नागरिकलाई प्रदान गरिने सेवा थप प्रभावकारी हुने उहाँले बताउनुभयो ।

राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारूले प्रहरी चौकीको आफ्नै भवन निर्माण हुनु वडाको शान्ति सुरक्षा व्यवस्थापनका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । भवन हस्तान्तरणसँगै प्रहरी चौकीका लागि आवश्यक अन्य भौतिक पूर्वाधार निर्माण गर्न पनि आफ्नो कार्यकालमा पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

प्रहरी चौकी फत्तेपुर (क) का इन्चार्ज प्रहरी सहायक निरीक्षक भुपतेन्द्र खड्काले नयाँ भवन प्राप्त भएपछि ढुक्क भएर नागरिकको सेवामा खटिने वातावरण बनेको बताउनुभयो । उहाँले यसबाट प्रहरी कर्मचारीलाई दैनिक कार्यसम्पादन गर्न र सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय सुनिल घर्तीमगरले प्रहरी चौकीको भौतिक संरचना व्यवस्थित हुँदा शान्ति सुरक्षा कायम गर्न र नागरिकलाई सेवा दिन सहज हुने बताउनुभयो ।

फत्तेपुर प्रहरी चौकीले आफ्नै भवन पाए पनि जिल्लाका दर्जनौँ प्रहरी चौकीको भौतिक अवस्था भने चुनौतीपूर्ण रहेको छ । बाँकेका विभिन्न स्थानमा रहेका दर्जनौँ प्रहरी चौकी जीर्ण तथा अपर्याप्त भवनबाट सेवा सञ्चालन गर्न बाध्य रहेको स्थानीयस्तरमा गुनासो हुँदै आएको छ । कतिपय स्थानमा प्रहरी कर्मचारीले सुरक्षित र व्यवस्थित कार्यस्थलको अभाव झेल्नुपरेको छ ।

प्रहरीलाई नागरिकको सुरक्षा र कानुन कार्यान्वयनको जिम्मेवारी दिइए पनि उनीहरूलाई आवश्यक कार्यालय, आवास, शौचालय, खानेपानी र अन्य आधारभूत पूर्वाधार उपलब्ध गराउने विषयमा पर्याप्त ध्यान पुग्न नसकेको देखिन्छ । प्रहरीको कार्यसम्पादन प्रभावकारी बनाउन जनशक्ति र उपकरणसँगै सुरक्षित तथा सुविधा सम्पन्न भौतिक संरचना पनि उत्तिकै आवश्यक हुन्छ ।

फत्तेपुर प्रहरी चौकीको भवन निर्माणले स्थानीय सरकार र प्रदेश सरकारबीचको साझेदारीबाट स्थानीय सुरक्षा पूर्वाधार विकास गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ । अब बाँकेका जीर्ण तथा अपर्याप्त भवनबाट सेवा दिइरहेका अन्य प्रहरी चौकीको अवस्थासमेत पहिचान गरी प्राथमिकताका आधारमा पुनर्निर्माण तथा मर्मतसम्भार गर्नुपर्ने आवश्यकता देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button