तपाईँ सुन्दै हुनुहुन्छः

लागूऔषध दुरुपयोग नियन्त्रण र मानसिक स्वास्थ्य प्रवर्द्धनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

बाँके । भारतसँग खुला सीमा जोडिएको बाँकेको नरैनापुर गाउँपालिकामा बालबालिका तथा किशोरकिशोरीलाई लागूऔषध दुरुपयोगको जोखिमबाट जोगाउने र मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको पाँचदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 

सीमावर्ती क्षेत्रका मदरसामा अध्ययनरत पाँच सयभन्दा बढी विद्यार्थी सहभागी कार्यक्रममा लागूऔषध दुरुपयोग नियन्त्रण र मानसिक स्वास्थ्य प्रवद्र्धनका विषयलाई एकीकृत रूपमा समेटिएको छ।

मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र (हुरीपप), बाँकेको आयोजनामा नरैनापुर गाउँपालिका वडा नं. २ र ३ अन्तर्गतका पाँचवटा मदरसामा कार्यक्रम सञ्चालन गरिएको हो । मदरसा सिराजिया इस्रारुल उलुम, मदरसा अमजदिया बरकातिया, मदरसा इस्लामिया जियाउल उलुम, मदरसा राउफुर उलुम गुलसने कादरिया तथा मदरसा जामिया मगदुमिया नूरुल ताजुल उलुमका विद्यार्थी कार्यक्रममा सहभागी भएका थिए ।

भारतसँग खुला सीमा जोडिएको नरैनापुर क्षेत्रमा बालबालिका तथा किशोरकिशोरी लागूऔषध दुरुपयोगको जोखिममा पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उनीहरूलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। विशेषगरी किशोरावस्थामा साथीभाइको दबाब, गलत संगत, कौतुहलता तथा सामाजिक र पारिवारिक परिस्थितिका कारण जोखिमपूर्ण व्यवहारतर्फ आकर्षित हुन सक्ने भएकाले समयमै सचेतना र सही निर्णय लिन सक्ने क्षमता विकास गराउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजक संस्थाका सचिव सरिला घर्तीले बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रममा वरिष्ठ पत्रकार सिराज खान र प्रहरी सहायक निरीक्षक लोकबहादुर मल्लले लागूऔषध दुरुपयोग नियन्त्रणका विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँहरूले लागूऔषध दुरुपयोगका कारण, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा पर्ने असर, प्रचलित कानुनी व्यवस्था, लागूऔषधको ओसारपसार तथा प्रयोगबाट उत्पन्न हुने जोखिम र रोकथामका उपायबारे विद्यार्थीलाई जानकारी गराउनुभएको थियो।

त्यसैगरी डा. डक्टप्रसाद धिताल, स्वास्थ्यकर्मी सामना गुरुङ र अधिकारकर्मी आलम खानले मानसिक स्वास्थ्य प्रवर्द्धनसम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो । उहाँहरूले तनाव व्यवस्थापन, निराशाबाट बच्ने उपाय, सकारात्मक सोचको विकास तथा भावनात्मक समस्याको पहिचान र व्यवस्थापनका विषयमा विद्यार्थीलाई जानकारी दिनुभएको थियो। मानसिक स्वास्थ्यसम्बन्धी समस्या लुकाएर राख्नुभन्दा समयमै अभिभावक, शिक्षक तथा स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्नेमा उहाँहरूले जोड दिनुभएको थियो ।

कार्यक्रममा लागूऔषध सेवन तथा दुरुपयोगबाट टाढा रहने, साथीभाइको गलत दबाबलाई अस्वीकार गर्ने, तनाव र निराशाको सामना गर्ने तथा आवश्यक परेको अवस्थामा सहयोग खोज्ने व्यवहारिक उपायसमेत सिकाइएको थियो । साथै विद्यार्थीको स्वास्थ्य, आत्मसम्मान, गोपनीयता र सुरक्षित वातावरणमा बाँच्न पाउने अधिकारका विषयलाई विशेष प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।

सीमावर्ती क्षेत्रका विद्यार्थीलाई लक्षित गरी लागूऔषध दुरुपयोग नियन्त्रण र मानसिक स्वास्थ्यलाई एकैसाथ समेटेर सञ्चालन गरिएको कार्यक्रमले विद्यार्थीमा सकारात्मक व्यवहार र स्वस्थ जीवनशैली विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

लागूऔषध दुरुपयोग नियन्त्रण प्रहरी तथा सुरक्षा निकायको प्रयासले मात्र सम्भव नहुने भएकाले परिवार, विद्यालय, मदरसा, स्थानीय सरकार र समुदायबीच सहकार्य आवश्यक रहेको सन्देशसमेत कार्यक्रममार्फत प्रवाह गरिएको छ । पाँचदिने अभिमुखीकरणले सीमावर्ती क्षेत्रका बालबालिका तथा किशोरकिशोरीलाई जोखिमपूर्ण गतिविधिबाट टाढा राख्दै उनीहरूको सुरक्षित र स्वस्थ भविष्य निर्माणमा योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेको छ ।

कार्यक्रममा नरैनापुर गाउँपालिका वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा, वडा नं. २ का वडा सदस्य मोहम्मद यार खाँ, मदरसाका शिक्षक, स्थानीय अगुवा तथा सरोकारवालाको सहभागिता रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button