न्यायको पर्खाइमै जीवन बित्न लागेको द्वन्द्वपीडितको गुनासो
नेपालगञ्ज । विस्तृत शान्ति सम्झौता भएको दुई दशक पुग्न लाग्दा पनि द्वन्द्वपीडितले न्यायको अनुभूति गर्न नपाएको गुनासो गरेका छन् । उनीहरूले वर्षौंदेखि न्यायको पर्खाइमा बस्दा जीवन नै बित्न लागेको भन्दै राज्यले आफूहरूका पीडा र समस्यालाई गम्भीरतापूर्वक लिनुपर्ने माग गरेका छन् ।

विस्तृत शान्ति सम्झौताको बीस वर्ष, संक्रमणकालीन न्यायको अवस्था र पीडितको अपेक्षाका विषयमा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय र एड्भोकेसी फोरम नेपालको संयुक्त आयोजनामा नेपालगञ्जमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा द्वन्द्वपीडितहरूले विगतका पीडादायी अनुभव सुनाउँदै न्याय प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
कार्यक्रममा द्वन्द्वपीडित विन्दा खरेल पाण्डे, अशोक सोडारी, युवराज गिरी, लालबहादुर ओली, अलिबहादुर कार्की, कौशिला कार्की र कमला कुँवरले द्वन्द्व कालमा भोग्नुपरेका पीडा, त्यसले आफ्नो परिवार र व्यक्तिगत जीवनमा पारेको प्रभाव तथा न्याय प्राप्तिका लागि वर्षौंदेखि गर्नुपरेको सङ्घर्षबारे अनुभव सुनाउनुभयो ।
उहाँहरूले द्वन्द्वका क्रममा भोगेका यातना र क्षतिको पीडा अझै कम हुन नसकेको बताउँदै न्याय पाउने आशामा लामो समय बितिसक्दा पनि राज्यबाट अपेक्षित सम्बोधन हुन नसकेको गुनासो गर्नुभयो । द्वन्द्वपीडितका समस्या केवल क्षतिपूर्तिमा सीमित नरहेको उल्लेख गर्दै उहाँहरूले सम्मानजनक पुनःस्थापना, नियमित औषधोपचार, जीविकोपार्जनको व्यवस्था र न्यायिक निरूपणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
पीडितहरूले संक्रमणकालीन न्याय प्रक्रियालाई अनावश्यक रूपमा लम्ब्याइरहँदा पीडित र तिनका परिवार थप मानसिक, सामाजिक तथा आर्थिक समस्यामा परेको बताउँदै अब आश्वासनभन्दा परिणाममुखी काम आवश्यक रहेको धारणा राख्नुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख द्वारिका अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एड्भोकेसी फोरमका संयोजक वसन्त गौतमले विषय प्रवेश गराउँदै संक्रमणकालीन न्यायको पछिल्लो अवस्था, विद्यमान चुनौती र पीडितका अपेक्षाबारे जानकारी गराउनुभएको थियो ।
उहाँले विस्तृत शान्ति सम्झौताले परिकल्पना गरेको शान्ति प्रक्रियालाई पूर्णता दिन संक्रमणकालीन न्यायको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै पीडितको सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित गर्नुपर्ने विषयमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगञ्ज उच्च अदालत बारका अध्यक्ष पवनकुमार गुप्ता, जिल्ला बार अध्यक्ष पुनम श्रेष्ठ तथा अधिकारकर्मी विश्वजित तिवारी, सुरेश गौतम, प्रभातकुमार ठकुरी लगायतले संक्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनुको विकल्प नरहेको बताउनुभयो ।
उहाँहरूले विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न राज्य गम्भीर र जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो । पीडितलाई न्यायको अनुभूति गराउन सत्य निरुपण, दोषीलाई जबाफदेही बनाउने प्रक्रिया, परिपूरण र पुनःस्थापनाका कामलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उहाँहरूको भनाइ थियो ।
शान्ति सम्झौताको लामो समय बितिसक्दा पनि पीडितले न्यायका लागि सङ्घर्ष गरिरहनुपर्ने अवस्था रहनु गम्भीर विषय भएको उल्लेख गर्दै सहभागीहरूले संक्रमणकालीन न्यायलाई राजनीतिक स्वार्थ र प्रक्रियागत ढिलाइबाट मुक्त गरी पीडितमैत्री बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा संक्रमणकालीन न्यायको वर्तमान अवस्था, पीडितका समस्या, राज्यको दायित्व र न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउन आवश्यक पहलका विषयमा छलफल गरिएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख अधिकारीले संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउँदा पीडितको अधिकार र न्यायको सुनिश्चिततालाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो । उहाँले द्वन्द्वपीडितले लामो समयदेखि न्यायको प्रतीक्षा गरिरहेको अवस्थामा उनीहरूको पीडा र अपेक्षालाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो । सत्यको अन्वेषण, न्यायमा पहुँच, पीडितको परिपूरण र सम्मानजनक पुनःस्थापनाको व्यवस्था गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उहाँले संक्रमणकालीन न्याय प्रक्रियालाई पीडितमैत्री, विश्वसनीय र प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्