तपाईँ सुन्दै हुनुहुन्छः

अयोध्या–जनकपुरधाम रेल सेवाको अवसर उपयोग गर्न टुरिस्ट गाइड तालिम लिन युवाहरूलाई मन्त्री यादवको आग्रह

काठमाडौँ । अयोध्याबाट जनकपुरधामसम्म सञ्चालनमा आएको सरयू–कमला एक्सप्रेसले धार्मिक पर्यटन र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ। 

यही अवसरलाई उपयोग गर्न युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले जनकपुरधामका युवाहरूलाई  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगतको नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठानले सञ्चालन गर्न लागेको टुरिस्ट गाइड तालिम लिएर आफूलाई तयार पार्न आग्रह गर्नुभएको छ।

मन्त्री यादवले सामाजिक सञ्जाल मार्फत जानकी मन्दिर, राम मन्दिर, मिथिला संस्कृति र धनुषा धामलगायतका धार्मिक तथा ऐतिहासिक स्थलको पहिचान विश्वभर पुर्‍याउन दक्ष स्थानीय गाइड आवश्यक रहेको बताउनु भएको हो। रेल सेवाले दुई धार्मिक नगरी जोडिएपछि तीर्थयात्री र पर्यटकको आवागमन बढ्ने भएकाले उनीहरूलाई स्थानीय इतिहास, धर्म र संस्कृतिबारे जानकारी दिन सक्ने सीपयुक्त जनशक्तिको माग बढ्ने उहाँको भनाइ छ।

मन्त्री यादवले “सीप सिकौँ, पर्यटकलाई स्वागत गरौँ र आफ्नै भूमिमा रोजगारी सिर्जना गरौँ” भन्दै युवालाई विदेश पलायन हुनुभन्दा स्वदेशमै अवसर खोज्न प्रेरित गर्नुभएको छ।

स्थानीय स्तरमा धार्मिक पर्यटनलाई व्यवस्थित गर्न र पर्यटकलाई गुणस्तरीय सेवा दिन तालिमप्राप्त गाइडले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button