मलेसियामा प्रतिघण्टा श्रम उत्पादकत्व ४.४ प्रतिशतले वृद्धि
क्वालालम्पुर । मलेसियामा सन् २०२६ को तेस्रो त्रैमासिकमा प्रतिघण्टा श्रम उत्पादकत्व गत वर्षको सोही अवधिको तुलनामा ४.४ प्रतिशतले वृद्धि भएको छ। मलेसियाको तथ्याङ्क विभाग (डीओएसएम) का अनुसार प्रतिघण्टा उत्पादकता बढेर ४८.२ रिंगिट (करिब ११.७ अमेरिकी डलर) पुगेको छ ।
मलेसियाको अर्थतन्त्र ५.५ प्रतिशतले विस्तार हुनु तथा कुल काम गर्ने समय एक प्रतिशतले बढेर ९.७ अर्ब घण्टा पुग्नुले उत्पादकता वृद्धिमा योगदान गरेको विभागले जनाएको छ ।
रोजगारप्राप्त व्यक्तिपिच्छेको मूल्य अभिवृद्धिका आधारमा मापन गरिएको श्रम उत्पादकता पनि ४.२ प्रतिशतले बढेर २७ हजार ७८८ रिंगिट पुगेको छ ।
क्षेत्रगत रूपमा उत्पादनमूलक उद्योगमा सबैभन्दा बढी ६.९ प्रतिशत उत्पादकता वृद्धि भएको छ। निर्माण क्षेत्रमा ६.४, सेवा क्षेत्रमा ४.२ र कृषि क्षेत्रमा १.९ प्रतिशत वृद्धि भएको छ । तर खानी तथा उत्खनन क्षेत्रमा भने उत्पादकता पाँच प्रतिशतले घटेको छ ।
उत्पादकता वृद्धिलाई निरन्तरता दिन उच्च मूल्य अभिवृद्धि, स्रोतको प्रभावकारी उपयोग र नवप्रवर्तनमा जोड दिनुपर्ने विभागले जनाएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्