नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल

काठमाडौँ । विपद्को जोखिममा रहेका क्षेत्रका नागरिकलाई मोबाइल फोनमार्फत समयमै पूर्वसूचना पुर्याउने उद्देश्यले नेपालमै विकसित सेल ब्रडकास्ट प्रणाली (सीबीएस) को प्रारम्भिक प्राविधिक परीक्षण सफल भएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयको समन्वयमा गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको सहकार्यमा आज उक्त प्रणालीको परीक्षण गरिएको हो ।
सूचना तथा सञ्चार मन्त्री डा.विक्रम तिमिल्सिना र गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा नेपाल टेलिकमको बलम्बुस्थित टावरबाट परीक्षण सन्देश प्रवाह गरिएको थियो ।
परीक्षणका क्रममा आज साँझ काठमाडौँको निश्चित भौगोलिक क्षेत्रमा रहेका मोबाइल फोनमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा ‘यो परीक्षण सन्देश हो’ उल्लेख गरिएको सन्देश पठाइएको थियो । मोबाइलमा सन्देश प्राप्त हुँदा सामान्य सन्देशभन्दा फरक चेतावनी ध्वनि र कम्पन समेत आएको थियो ।

सेल ब्रडकास्ट प्रणालीमार्फत निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा एकै पटक आपत्कालीन सूचना प्रवाह गर्न सकिन्छ । यसका लागि प्रत्येक व्यक्तिको मोबाइल नम्बरमा छुट्टाछुट्टै सन्देश पठाउनुपर्ने वा इन्टरनेटको आवश्यकता पर्दैन । मोबाइल सेवा प्रदायकको नेटवर्कमा जोडिएका लक्षित क्षेत्रका मोबाइल फोनमा एकै पटक सूचना पु¥याउन सकिने भएकाले नेटवर्कमा अत्यधिक चाप भएको अवस्थामा समेत यस प्रणालीबाट प्रभावकारी रूपमा सन्देश प्रवाह गर्न सकिनेछ ।
यस प्रणालीको अर्को विशेषता भनेको प्रयोगकर्ताको व्यक्तिगत मोबाइल नम्बर वा अन्य विवरण सङ्कलन नगरी लक्षित भौगोलिक क्षेत्रमा सूचना पु¥याउन सक्नु हो । यस प्रविधिको प्रयोगबाट बाढीपहिरो, हिमताल विस्फोटजन्य बाढी, भूकम्प तथा प्रतिकूल मौसमलगायत विपद्का सम्भावित जोखिमबारे पूर्वसूचना र आवश्यक सुरक्षा निर्देशन जोखिममा रहेका क्षेत्रका नागरिकसम्म समयमै पुर्याउन सकिनेछ ।

प्रारम्भिक परीक्षणबाट प्राप्त प्राविधिक नतिजा र अनुभवका आधारमा प्रणालीलाई थप परिष्कृत गर्दै उच्च विपद् जोखिम भएका क्षेत्रमा चरणबद्ध रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ ।
विपद्का समयमा नागरिकलाई समयमै सचेत गराउन, सुरक्षित स्थानमा जान आवश्यक निर्देशन उपलब्ध गराउन तथा सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न यस प्रणालीले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्