तपाईँ सुन्दै हुनुहुन्छः

भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएको छ । 

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशबीच पूर्वाधार, ऊर्जा, व्यापार, शिक्षा र प्रविधि लगायतका विभिन्न क्षेत्रमा सहकार्य, सहमति तथा सम्झौताहरू भएका छन् । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भारत भ्रमण जानुभएका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा ‘विकसित भारत र समुन्नत नेपाल’ नामक संयुक्त दृष्टिकोण पत्र पारित गर्नुभएको छ । 

पारित दृष्टिकोण पत्रमा दुई देशबिच आर्थिक विकास, कनेक्टिभिटी, ऊर्जा, जलस्रोतका साथै जलवायु उत्थानशीलता, विपद् व्यवस्थापन, खेलकुद, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने उल्लेख छ ।

यस्तै भारतले नेपालको विकास यात्रामा निरन्तर साथ दिने प्रतिबद्धता जनाउँदै करिब २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

यसमध्ये ५ हजार ६ सय करोड नेपाली रुपैयाँ विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनाका लागि अनुदानका रूपमा रहनेछ भने १८ हजार ४ सय करोड रुपैयाँ ऊर्जा क्षेत्रका परियोजनाका लागि सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध गराइने छ । 

यस्तै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडानलाई सहज बनाउन हाल एकतर्फी रहेको काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन दुवै पक्षबिच सहमति भएको छ । 

परराष्ट्र मन्त्रालयका अनुसार नेपालको तेस्रो मुलुकसँगको पारवहन व्यापारका लागि भारतले गुजरातको दीनदयाल बन्दरगाह (काण्डला) को सुविधा उपलब्ध गराउने घोषणा गरेको छ भने आवश्यक पूर्वाधार तयार भएपछि ओडिशाको पारादीप बन्दरगाह समेत उपलब्ध गराइनेछ ।

यस्तै प्रस्तावित रक्सौल–काठमाडौँ विद्युतीय ब्रोडगेज रेलमार्गको ’फिल्ड लोकेसन सर्भे’ सम्पन्न भएको घोषणा गर्दै नेपालको पूर्व–पश्चिम रेलमार्ग निर्माणमा समेत भारतले सहकार्य गर्ने सहमति भएको छ ।

सिलिगुडी–झापा पाइपलाइनको काम छिट्टै सुरु गर्ने सहमति हुनुका साथै सीमा समस्या समाधान गर्न दुवै देशका परराष्ट्र सचिवहरूलाई निर्देशन दिइएको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

ऊर्जातर्फ ६ सय ६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल शिलान्यास गरिएको छ भने पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआर छिट्टै टुङ्ग्याएर कार्यान्वयनमा लैजान र सप्तकोशी तथा सुनकोशी बहुउद्देश्यीय आयोजनाको डीपीआरलाई तीव्रता दिन निर्देशन दिइएको छ ।

यस्तै नेपालमा आईआईटी क्याम्पस र डिजिटल सहकार्यसम्वन्धी भारतले नेपालमा प्रतिष्ठित इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीको क्याम्पस स्थापना गर्ने सहमति भएको छ । 

यसका साथै चितवनमा भारतीय अनुदानमा कृषि–औद्योगिक पाक निर्माण गरिने, एक–अर्काको देशमा बसोबास गर्ने नागरिकलाई बैङ्किङ र दूरसञ्चार सेवामा सहज पहुँच उपलब्ध गराउन दुवै पक्षबिच सहमति भएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले न्यानो आतिथ्यका लागि भारतीय समकक्षी मोदीप्रति आभार व्यक्त गर्दै नेपाल भ्रमणको औपचारिक निमन्त्रणा समेत दिनुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले निमन्त्रणा स्वीकार गर्नुभएको छ र भ्रमणको मिति कूटनीतिक माध्यमबाट तय गरिने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button