चौदण्डीगढीमा भूमिहीन सुकुम्बासीलाई भोगाधिकार पुर्जा वितरण तीव्र

उदयपुर । सरकारले देशका विभिन्न जिल्लामा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपुर्जा ९लालपुर्जा० वितरण अभियान अघि बढाइरहँदा उदयपुरको चौदण्डीगढी नगरपालिकाले भने भोगाधिकार प्रमाणपुर्जा वितरणलाई तीव्रता दिएको छ ।
नगरभित्र हजारौँ नागरिक जग्गाको स्वामित्व र कानुनी पहिचानको पर्खाइमा रहेकाले सीमित सङ्ख्यामा लालपुर्जा वितरण गर्नुभन्दा सबैको समस्या एकै पटक समाधान गर्ने रणनीतिअनुसार नगरपालिकाले भोगाधिकार प्रमाणपुर्जा वितरणलाई तीव्रता दिइएको जनाएको छ।
उदयपुरमा हालै १४६ भूमिहीन परिवारले लालपुर्जा प्राप्त गरेका छन्। जिल्लाका अन्य स्थानीय तहमा लालपुर्जा वितरण भइरहेका बेला चौदण्डीगढीले भने सोमबार वडा नम्बर २, झोडापाटाबाट भोगाधिकार पुर्जा वितरण सुरु गरेको हो । यसअघि पनि नगरपालिकाले विभिन्न वडाका ३४३ जनालाई भोगाधिकार पुर्जा वितरण गरिसकेको थियो ।
नगरपालिकाका अनुसार नगरभित्र जग्गा नापजाँच सम्पन्न भएका ६ हजार २०० परिवारमध्ये सोमबार ३६४ परिवारलाई भोगाधिकार पुर्जा वितरण गरिएको हो । भूमि समस्या समाधान आयोगसँगको सहकार्यमा नगरभित्र करिब ५ हजार २ सय परिवारलाई पुर्जा वितरण गर्ने तयारी भइरहेको नगर प्रमुख कालुमान लामाले बताउनुभयो ।
नगर प्रमुख लामाका अनुसार नगरपालिकाले २०–२५ जनालाई मात्रै लालपुर्जा वितरण गरेर अन्य नागरिकलाई वर्षौँसम्म प्रतीक्षामा राख्नुभन्दा सबै भूमिहीन नागरिकको समस्या एकै पटक समाधान गर्ने लक्ष्य लिएको छ । नगरभित्र जग्गा नापजाँचको काम लगभग सम्पन्न भइसकेकाले अब कुनै बहाना नगरी वर्षौँदेखि नागरिकले भोग्दै आएको समस्या सम्बोधन गर्नुपर्ने उहाँको भनाइ छ । भोगाधिकार पुर्जामार्फत भए पनि नागरिकलाई उनीहरूले भोगचलन गर्दै आएको जग्गाको अधिकार सुनिश्चित गरिने उहाँले बताउनुभयो।
“थोरै सङ्ख्यामा लालपुर्जा वितरण गरेर अरूलाई पर्खाइमा राख्नुभन्दा सबै भूमिहीन नागरिकको समस्या एकै पटक समाधान गर्ने हाम्रो प्रयास हो,” नगर प्रमुख लामाले बताउनुभयो।
वर्षौँदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाण नपाएका नागरिकका लागि भोगाधिकार पुर्जा वितरणले राहत र आशा जगाएको छ । तर, भोगाधिकार पुर्जा र पूर्ण जग्गाधनी प्रमाणपुर्जा एउटै कानुनी हैसियतका दस्ताबेज होइनन्। त्यसैले नागरिकको अपेक्षा भोगाधिकार प्राप्तिमा मात्रै सीमित नभई अन्ततः सुरक्षित जग्गाको स्वामित्वसहित लालपुर्जा प्राप्त गर्नु हो। यद्यपि, भोगाधिकार पुर्जाले लालपुर्जा प्राप्त गर्ने प्रक्रियामा एउटा आधार वा माध्यमका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।
देशभर लालपुर्जा वितरण भइरहेका बेला चौदण्डीगढीले अघि बढाएको भोगाधिकार पुर्जा वितरण प्रक्रिया हजारौँ भूमिहीन परिवारका लागि राहतको कदम बनेको छ। तर, यसको अन्तिम लक्ष्य पूर्ण जग्गाधनी प्रमाणपुर्जा वितरणसम्म पुग्ने हो कि होइन भन्ने प्रश्न अझै महत्वपूर्ण छ ।
नगरपालिकाले सबै नागरिकको समस्या एकै पटक समाधान गर्ने प्रतिबद्धता जनाइरहँदा वितरण प्रक्रियाको पारदर्शिता, निश्चित समयसीमा र अन्तिम जग्गा स्वामित्वको सुनिश्चितताले नै यस अभियानको वास्तविक उपलब्धता निर्धारण गर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्