राउटे समुदायको परम्परागत सीप र संस्कृति संरक्षण गर्न सरकारसँग माग

काठमाडौँ । लोपोन्मुख राउटे समुदायको मौलिक पहिचान, परम्परागत सीप, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक व्यवस्था गर्न समुदायका प्रतिनिधिले सरकारसँग माग गरेका छन् ।
आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठसँग भेट गरी राउटे समुदायका प्रतिनिधिले आफ्नो परम्परागत जीवनशैली र सांस्कृतिक पहिचान संरक्षणका लागि राज्यको विशेष पहल आवश्यक रहेको बताएका हुन् ।

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता वादीको उपस्थितिमा भएको छलफलमा राउटे समुदायको परम्परागत काष्ठकला तथा हस्तकलाको प्रवर्द्धन, भाषा र संस्कृतिको संरक्षण, सामाजिक सुरक्षा तथा दिगो आयआर्जनका अवसर सिर्जना गर्नुपर्ने विषय उठाइएको थियो ।
छलफलमा उर्जामन्त्री श्रेष्ठले राउटे समुदायको मौलिक पहिचान र परम्परागत सीपको संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै यसका लागि सरकार सकारात्मक रहेको बताउनुभयो ।

उहाँले स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी समुदायको सीपलाई आयआर्जनसँग जोड्ने, भाषा तथा कलाको संरक्षण गर्ने र आवश्यक सामाजिक सुरक्षाको व्यवस्था मिलाउने दिशामा काम गर्नुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्