निजामती सेवामा गुमेको विश्वास फर्काउने जिम्मेवारी नवप्रवेशीमा : मन्त्री रावल
ललितपुर । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले निजामती सेवाप्रतिको जनविश्वास पुनः स्थापित गर्न प्रशासनिक सुधार, पारदर्शिता र जबाफदेहितालाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित ४१औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रममा उहाँले कर्मचारीतन्त्रमा देखिएको चलखेल र सेवा प्रवाहमा हुने ढिलासुस्ती लगायतका विकृति अन्त्य गरिने दृढता व्यक्त गर्नुभयो ।
निजामती कर्मचारीको गुमेको जनविश्वास फर्काउन कानुन विपरीतका काम नगर्ने प्रतिबद्धता आवश्यक रहेको बताउँदै मन्त्री रावलले राज्यले खटाइएको कार्यस्थलमा जान नमान्ने प्रवृत्तिले दुर्गम तथा स्थानीय तहमा सेवा प्रवाह तथा विकास निर्माण प्रभावित भइरहेको बताउनुभयो ।
निजामती सेवा ऐन आउन ढिलाइ हुनुमा कर्मचारीतन्त्रभित्रकै कतिपय प्रवृत्ति र प्रक्रियागत कमजोरी जिम्मेवार रहेको बताउँदै उहाँले यो सेवामा प्रवेश गर्नेलाई परम्परागत गलत अभ्यास त्याग्ने सन्दर्भमा उच्च तहका कर्मचारीबाटै सुरु गरिनुपर्ने धारणा राख्नुभयो ।
कानुन विपरीतका काम गर्न दबाब आए त्यसलाई अस्वीकार गर्न सक्नुपर्नेमा जोड दिँदै मन्त्री रावलले कानुनसम्मत रूपमा काम गर्ने कर्मचारीलाई सरकारले संरक्षण र प्रोत्साहन गर्ने स्पष्ट गर्नुभयो ।
महालेखा नियन्त्रक वैकुण्ठप्रसाद अर्यालले राज्यबाट प्रदान गरिने सेवा प्रवाह विभिन्न निकायसँग समन्वय र साझेदारी गरिए सरकारको कार्ययोजना सहजरुपमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
नायब महालेखापरीक्षक घनश्याम पराजुलीले नवप्रवेशी अधिकृतलाई आन्तरिक लेखापरीक्षण, अन्तिम लेखापरीक्षण, बजेट तर्जुमालगायतका विषयमा सङ्घ, प्रदेश र स्थानीय तहका कानुनअनुसार ज्ञान, सीप र क्षमता हासिल गर्न र सेवाकालीन जीवनमा लागू गर्न आग्रह गर्नुभयो ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद भट्टले नवप्रवेश अधिकृतलाई जनताको सेवामा उत्कृष्टता ल्याउने प्रवृत्तिको विकास गर्न सुझाव दिनुभयो ।
परराष्ट्र मन्त्रालयका निमित्त सचिव कृष्ण ढकालले राज्य सञ्चालनको महत्त्वपूर्ण जिम्मेवारीमा पुग्नु ठूलो सम्मानित अवसर र जिम्मेवारी भएको हुँदा सेवाकालीन तालिम ज्ञान र चेतनाको जन्म दिने थलो भएको बताउनुभयो ।
सङ्घीय संसद् सचिवालयका सहसचिव रामहरि थापाले नवप्रवेशी अधिकृतलाई भ्रष्टाचारलाई निरुत्साहित गर्दै नैतिकता र सदाचार अवलम्बन गर्ने जीवनशैली अपनाउन आग्रह गर्नुभयो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक डा रामप्रसाद घिमिरेले परिवर्तनलाई आत्मसात् गर्दै आफूलाई निस्वार्थ राष्ट्र सेवामा समर्पित गर्न आग्रह गर्नुभयो ।
वरिष्ठ अध्ययन निर्देशक त्रिलोचन पौडेलले निजामती सेवाका नवप्रवेशीका लागि सक्षमतामा आधारित छ महिने पाठ्यक्रमले सार्वजनिक प्रशासनको आधारभूत मूल्य र मान्यता विकास गर्ने बताउनुभयो ।
आजबाट छ महिनासम्म सञ्चालन हुने सेवाकालीन तालिममा परराष्ट्र सेवाका ९ जना, लेखापरीक्षण समूहका ११ जना, सङ्घीय संसद् सेवाका ४ जना, सामान्य प्रशासनतर्फका १२८ जना र राजश्वतर्फका ३७ जना गरी १८९जना अधिकृत सहभागी हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्