तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकलाई घोडा चढाएर आम्दानी गर्दै कन्यामका किसान

इलाम । इलामको सूर्योदय नगरपालिका–७ कन्यामका किसान सोमबहादुर तामाङको दैनिकी बिहान घोडा स्याहारसुसारबाट सुरु हुन्छ । 

बिहान उठ्ने बित्तिकै घोडालाई दानापानी खुवाउने, सरसफाइ गर्ने र पर्यटक सेवाका लागि तयार पार्नुहुन्छ । त्यसपछि उहाँ घोडा लिएर पर्यटकीय क्षेत्र कन्याम बजार निस्कनुहुन्छ । दिनभर पर्यटकलाई घोडा चढाएर कन्याम र आसपासका क्षेत्र घुमाउनुहुन्छ । दिनभरि कमाएको पैसा लिएर उहाँ साँझ घर फर्कनुहुन्छ । यसरी नै बित्ने गरेको छ उहाँको दैनिकी । 

परम्परागत कृषि गर्दै आउनुभएका तामाङका लागि घोडचढी व्यवसाय पछिल्ला दिनमा आम्दानीको मुख्य स्रोत बनेको छ । उहाँले सरदरमा दैनिक रु तीन हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । “बिहानदेखि साँझसम्म घोडालाई स्याहारसुसारदेखि पर्यटकलाई घोडामा चढाएर घुमाउनु आजकलको दैनिकी बनेको छ,” उहाँले भन्नुभयो, “दिनभर पर्यटकलाई घोडा चढाएर सरदर दैनिक रु तीन हजारसम्म कमाइ हुन्छ । दैनिक घोडालाई दानापानी खुवाउन रु एक हजार खर्च हुन्छ । बाँकी बचत हुन्छ ।” 

प्याकेजमा पर्यटक घुमाउने मौका पाएको बेला भने रु पाँच हजारसम्म कमाइ हुने उहाँको भनाइ छ । परम्परागत खेतीपातीसँगै पर्यटन व्यवसायमा जोडिन पाउँदा आफूलाई थप सन्तुष्टि र आनन्द मिलेको उहाँ बताउनुहुन्छ । सोमबहादुरको मात्र होइन, यतिबेला कन्यामका ३९ किसानको दिनचर्या यस्तै रहेको छ । घोडापालन गर्दै आएका किसानको दैनिकी अहिले पर्यटकलाई घोडामा घुमाउन ठिक्क छ । बिहानदेखि बेलुकासम्म उनीहरू पर्यटकलाई घोडचढी सेवा दिन व्यस्त हुन्छन् । 

पछिल्लो समय कन्याममा घोडचढी व्यवसाय फस्टाउँदो छ । यहाँ घुम्न आउने पर्यटक घोडचढी नगरी फर्कँदैनन् । पर्यटकको चाप बढेपछि घोडा व्यवसायी झनै दङ्ग छन् । यहाँ चियाबारी ट्रेलमा घोडा दौडाउने, भिडियो खिच्ने, फोटो खिच्ने र टिकटक बनाउने पर्यटकहरूको सङ्ख्या बढेपछि घोडा व्यवसायीको आम्दानी बढेको छ । घोडचढी व्यवसायलाई व्यवस्थित बनाउनका लागि मूल्य निर्धारण गर्न र व्यवसायीलाई सङ्गठित गर्न घोडचढी व्यवसायी सङ्घ गठन गरिएको छ । 

सङ्घले दूरीअनुसार विभिन्न प्याकेजमा विभिन्न शुल्क निर्धारण गरिएको घोडचढी व्यवसायी सङ्घका कोषाध्यक्ष डिकबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार घोडा चढेर फोटो खिचेको मात्र रु ५० र १० मिनेट घुमेको रु १००, स्पोर्ट राउन्ड घुमेको रु ३००, हरियाली चिया बगान घुमेको ६०० र कन्यामका सबै क्षेत्र घुमेको (प्याकेजअनुसार) रु दुई ५०० देखि रु पाँच हजारसम्म लिने गरिएको छ । 

“सङ्घको निर्णयअनुसार हामीले विभिन्न प्याकेजमा विभिन्न शुल्क निर्धारण गरेका छौँ । रु ५० देखि रु पाँच हजारसम्मको प्याकेज छ,” उहाँले भन्नुभयो, “हामीले आम्दानी गरेबापत नगरपालिकामा वार्षिक रु एक हजार ४७० र सरसफाइ शुल्कबापत मासिक रु ८० तिर्दै आएका छौँ ।” 

घोडचढी व्यवसायी सङ्घका अध्यक्ष पनि रहनुभएका सूर्योदय नगरपालिका–७ का व्यवसायी प्रेमलाल ग्याबाले घोडचढी व्यवसाय आम्दानीको मुख्य स्रोत बनेको बताउनुभयो । कन्याम आउने पर्यटकलाई घोडामा सवार गराएर जीविकोपार्जन गर्न सहज भएको उहाँको भनाइ छ । “पर्यटकलाई घोडा चढाएर चाहेको स्थानमा घुमाउने गर्छौं । यो काम अन्य खेतीपातीको तुलनामा धेरै सहज छ,” उहाँले भन्नुभयो, “घोडचढी व्यवसायबाट आम्दानी मात्र हुँदैन, नयाँ नयाँ पर्यटकलाई घुमाउन र उनीहरूसँग भेटघाट गर्न पाउँदा मन आनन्दित हुन्छ ।” कन्याममा बालबालिका र युवादेखि वृद्ध वृद्धाले घोडामा सवार गर्ने गरेका छन् । 

सूर्योदय नगरपालिका–७ मा अवस्थित कन्याम कोसी प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र हो । यतिबेला कन्याम घुम्न आउने मुख्य ‘सिजन’ सुरु भएको छ । सामान्यतया असोजदेखि जेठसम्म कन्याममा पर्यटकको घुइँचो लाग्ने गरेको स्थानीय पर्यटन व्यवसायी टिका ओडारीले बताउनुभयो  । 

चारैतिर हरियाली चियाबारीको बुट्यानले सजिएको कन्याममा वनभोज, फोटो, भिडियो खिच्नाका साथ साथै घोडचढीका लागि दैनिक ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button